बुलबुले समाचारदाता
सुर्खेत, कात्तिक २२ गते । सरकारले मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतको खम्बागाडेदेखि मायातालसम्मको क्षेत्रमा पर्ने रुख कटानको अनुमति दिएको छ । गत बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले आयोजनालाई २३ किलोमिटर सडकखण्ड अन्तर्गतका रुख कटानको अनुमति दिएको हो ।
कटान अनुमति नपाए पनि सडक क्षेत्रका रुखमा चिनो लगाउने काम भने यसअघि नै सुरु गरिएको थियो । मदन भण्डारी राजमार्ग कार्यालय सुर्खेतका इन्जिनियर रामसागर हरिजनका अनुसार चिनो लगाउन थालिएको लामो समयपछि कटानका लागि स्वीकृति पाएको थियो । सडक क्षेत्रमा पर्ने एक हजार ३३४ रुखमा चिनो लगाइएको छ । मन्त्रीपरिषद्को बैठकले निर्णय गरिसकेको र अब रुख कटानका लागि थप प्रक्रिया अघि बढ्ने जनाइएको छ ।
४५ किलोमिटर सडकलाई तीन खण्डमा विभाजन गरेर सडक निर्माण थालिएको छ । तीन खण्डमध्ये दुई वटाको काम अघि बढेको छ । बड्डीचौर–खम्बागाडे र विद्यापुर–बल्दे सडकखण्ड निर्माणको काम अघि बढाइएको हो । मन्त्रीपरिषद्को निर्णयपछि डिभिजन वन कार्यालय भेरी बाबियाचौरले कटान आदेश दिनुपर्ने हुन्छ । कार्यालयले अनुगमन गरेर आवश्यक देखिएको रुखको मात्र कटान आदेश दिने जनाइएको छ ।
मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतको ४५ किलोमिटर सडकलाई तीन खण्डमा विभाजन गरेर सडक निर्माण थालिएको छ । तीन खण्डमध्ये दुई वटाको काम अघि बढेको छ । सम्झौता अनुसारकै समयावधिभित्र निर्माण सम्पन्न गर्ने गरी बड्डीचौर–खम्बागाडे र विद्यापुर–बल्दे सडकखण्ड निर्माणको काम अघि बढाइएको हो ।
बड्डीचौर–खम्बागाडे सडकखण्डको १५ प्रतिशत भौतिक प्रगति भएको छ । उक्त सडकखण्डको साढे १२ किलोमिटरमा सडक निर्माणको काम भइरहेको हो । यो सडकखण्डका लागि प्रदेश सरकारले ४२ करोड बजेट विनियोजन गरेको छ । उक्त खण्डमा अनक जयदेवी जेभी बाँकेले ४२ करोड ४७ लाख ६१ हजार रुपियाँमा प्रदेश सरकारको पूर्वाधार विकास निर्देशनालयसँग सम्झौता गरेको हो । २०७९ सालदेखि सुरु भएको उक्त खण्डको काम २०८१ असार १५ सम्म सम्पन्न गर्नुपर्ने छ ।
पूर्वाधार विकास निर्देशनालयका इन्जिनियर हरि शर्मा धितालले हाल उक्त खण्डमा नाला निर्माण, ग्याबिन, कल्भर्टलगायतका काम भइरहेको बताउनुभयो । उहाँका अनुसार उक्त खण्डमा तीन वटा मोटरेबल पुल निर्माणको सम्झौता भई काम अघि बढेका छन् । पुल निर्माणको काम सडक डिभिजन कार्यालय सुर्खेतले गरेको छ । यो सडकखण्डमा सात किलोमिटर जङ्गल क्षेत्र परेको छ । उहाँले वन क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकिएकाले वन क्षेत्रमा पर्ने रुख कटानको काम पनि अघि बढ्ने जानकारी दिनुभयो ।
रुख कटानको अनुमति नहुँदा काम गतिमा अघि बढ्न सकेको छैन । सरकारको प्राथमिकतामा रहेको सडक, विद्युत्लगायतका पूर्वाधार निर्माण हुँदा समयमा रुख कटान आदेश नभएर काममा ढिलाइ हुने गरेको छ । राजमार्ग अन्तर्गतकै विद्यापुर–बल्दे सडकखण्डमा अहिले बाटो कटिङको काम धमाधम भइरहेको छ । तीन खण्डमध्ये यो तेस्रो खण्ड हो । २२ किलोमिटर सडकखण्ड निर्माणका लागि एक अर्ब २१ करोड रुपियाँमा काम सम्पन्न गर्ने गरी बानियाँ मोतीदान डिएस जेभी काठमाडौँले ठेक्का पाएको छ । सम्झौता अनुसार २०७९ फागुन १७ देखि सुरु भएको काम २०८२ फागुन १६ सम्म सम्पन्न गरिसक्नुपर्ने छ । यो क्षेत्रमा पर्ने रुखहरू कटान आदेश नहुँदा सडकको बिचबिचमा रुख छोडेर काम भइरहेको थियो । रुख कटानको अनुमति पाएसँगै अब विस्तृत काम अघि बढ्ने जनाइएको छ ।
आयोजनाकै खम्बागाडेदेखि विद्यापुरसम्मको १० किलोमिटर सडकखण्डको निर्माण भने अघि बढ्न सकेको छैन । उक्त खण्ड निर्माणका लागि ठेक्का सम्झौतासमेत भएको छैन । सम्झौताका लागि अन्तिम तयारी भने भइरहेको जनाइएको छ ।