• २५ वैशाख २०८१, मङ्गलबार

सरकारको काममा जनताको ऐक्यबद्धता छ: गुरुङ

blog

फडिन्द्र अधिकारी
लेखनाथ, कात्तिक २२ गते । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले अहिले सरकारले चालेका कदममा जनताको ऐक्यबद्धता रहेको बताउनु भएको छ । नेपाली जनताका दशकै पिच्छेको विद्रोहपछि अब शान्ति, समृद्धि, राष्ट्रियता, स्वाधीनता र प्रगतिको पक्षमा रहेको जनाउँदै उहाँले अब पनि द्वन्द्वमा गए देशकै स्वाधीनता सङ्कटमा पर्न सक्ने औँल्याउनुभयो ।
पोखराका पत्रकारहरूसँग कुरा गर्दै महासचिव गुरुङले भन्नुभयो, “अहिले सरकारले गरेका काममा जनताको ऐक्यबद्धता देखिएको छ । अब पनि विद्रोहमा जाने हो भने राष्ट्रिय स्वाधीनतामाथि नै सङ्कट आउन सक्छ ।” केही शक्तिले खेल्न खोजेको दाबी गर्दै उहाँले अहिले सत्ता गठबन्धन सुरक्षित रहेको उल्लेख गर्नुभयो । 
कोशी प्रदेशमा मध्यावधिको सम्भावना नभएको प्रस्ट पार्दै उहाँले कोशीको रोग अन्यत्र सल्किने सम्भावना नरहेको दाबी गर्नुभयो । सत्य निरूपण तथा मेलमिलाप आयोग गठनसहित शान्ति प्रक्रियाका बाँकी काम चाडै सकिने अवस्था बनेको उहाँले जानकारी दिनुभयो । “यसअघि दुई पटक काम अड्केको थियो । अब कुनै गडबडी नभए दलहरूबिच मोटामोटी सहमति भएको छ,” उहाँले भन्नुभयो । 
अब हुने हिउँदे अधिवेशनबाट विधेयक पारितसहित शान्ति प्रक्रियाका बाँकी काम सक्ने लागिपरेको जनाउनुभयो । विभिन्न अनियमितता र भ्रष्टाचारका काण्डहरूको छानबिन जारी रहेको जनाउँदै उहाँले यो अभियान निरन्तर हुने जनाउनुभयो । विद्यमान संयन्त्र र ऐनहरुमार्फत् सुशासनमा उल्लेखनीय काम एकै पटक गर्न नसकिँदै दाबी गर्दै उहाँले यो अभियानले कसैमाथि पक्षपात नगर्ने जिकिर गर्नुभयो ।
“सुशासनको अभियान महान् अभियान हो । यसमा कोही मान्छे, पार्टी भनेर पक्षपात गरिएको छैन । विपक्षी लगाएको पक्षपातको आरोप कामबाटै खण्डित भएको छ,’ उहाँ भन्नुहुन्छ । सरकारको प्रभावकारी समन्वय र निर्देशनका कारण एकै दिनमा भूकम्पका पीडितको उद्धार सकिएको उहाँको भनाइ छ । 
माओवादीले चलाएको ‘जनतासँग माओवादी अभियान’ भूकम्प आएको क्षेत्रमा उद्धार र राहतमा केन्द्रित हुने र अन्यत्र क्षेत्रमा साङ्गीतिक कार्यक्रमलाई रोकेर अरू कार्यक्रम हुने उहाँले जनाउनुभयो ।