• १० मंसिर २०८१, सोमबार

‘मध्यरातको तीन सेकेण्डमा गाउँ नै रहेन’

blog

गोरखापत्र अनलाइन 

जाजरकोट, कात्तिक २१ गते । यही कात्तिक १७ गते शुक्रबारको मध्यरात जाजरकोट केन्द्रबिन्दु भएर आएको ६ं.४ रेक्टर स्केलको भूकम्प आउँदा जाजरकोटका टीकाराम परियार घर बाहिर नै थिए । 

रातको ११ बजेसम्म लुगा सिलाइरहेका परियारलाई लाग्यो फेरि भोलि बिहानै उठेर काम गर्नुपर्छ अब त सुत्ने बेला भयो । 

उहाँले भन्नुभयो, “भूकम्प आउनुभन्दा अगाडि ११ बजेसम्म म लुगा सिलाइरहेको थिएँ । हामी श्रीमान्–श्रीमती तलतिर थियौँ । बच्चाबच्ची माथि सुतिसकेका थिए । ११ बजेपछि चाहिँ अब सुत्न जाऊँ, फेरि बिहानै उठेर काम गर्नुपर्छ भनेका थियौँ ।”

श्रीमान्–श्रीमतीबिचको कुरा भएपछि श्रीमती सुत्नलाई घरतिर लागे, उहाँ भने शौचलयतिर लाग्नुभयो । घर बाहिर नै रहनुभएका परियारलाई फोन आयो । फोनमा राम्रोसँग कुरा गर्न नेटवर्क नभएपछि उहाँ घरको अलि मास्तिर लाग्नुभयो । 

त्यति नै बेला भूकम्प आयो र माथि रहनुभएका परियारलाई भूकम्पले उछिट्याएर रोडमा पुरायो । त्यो अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “फोन राम्रो टावर टिप्ने मास्तिर गएँ । चट्याम–चुट्टुम आवाज आयो र मलाई रोडतिर उछिट्याएर पुरायो । 

उहाँले आँखै अगाडि तीन सेकेण्डमा गाउँ सबै क्षतविक्षत बनाएको दुःख बताउनुभयो । “बढीको घटना होइन, तीन सेकेण्डमै यो भयो । एक ठाउँबाट अर्को ठाउँमा टेकुम्ला भन्ने थिएन । गाउँका मान्छे राति उठेर बाहिर आउलान् जस्तो भन्ने पनि थिएन । म मात्रै बाहिर छु जस्तो लागेको थियो ।”

तीन तलाको घरले थिचेर श्रीमती बाँचेकी छिन् भन्ने आस पनि थिएन परियारलाई । चार, पाँचवटा लास त्यही ठाउँबाट निकालिसकेको थियो । मरेकै भए पनि तान्न त पर्‍यो भनेर हातैले श्रीमतीलाई तान्ने प्रयास भयो । असम्भव भएपछि छिमेकीको मेसिनले माटो फाल्ने काम भयो । 

त्यसपछि उहाँकी श्रीमतीले पुरिएकै ठाउँबाट म जिउँदै छु, मलाई उद्धार गर भनेर कराएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “हुन त यहाँ नौ जना मान्छे परे । पाँच जनाको क्षति भयो । छोरा, बुहारी पल्लो घरमा थिएँ । बुहारी चेपिएको रहेछ । बिचको कोठामा रहेका पाँच जना बोल्नै पाएनन् । चुँ गर्न पाएनन् ।”

भिडियो  सौजन्य : डा. लोकविजय अधिकारी