दोलखा समाचारदाता
दोलखा, मङ्सिर २६ गते । गत २०७२ को भूकम्पले क्षति भएकामध्ये दाताको अनुदानमा निर्माण हुन लागेका दोलखाका १० वटा सामुदायिक विद्यालय भवन अझैसम्म पनि पुनर्निर्माण हुन सकेका छैनन् ।
भवन निर्माणको ठेक्का पाएको कम्पनीको लापरबाहीका कारण सात वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुन नसक्दा विद्यालयको पढाइ प्रभावित भइरहेको विद्यालयका प्रधानाध्यापकहरूले गुनासो गरेका छन् ।
एसियाली विकास बैङ्कको अनुदान सहयोगमा निर्माण सुरु गरिएका यी विद्यालय भवन समयमै निर्माण सम्पन्न नहुँदा विद्यालयको पढाइमा प्रत्यक्ष असर परेको सदरमुकाम चरीकोटस्थित पशुपति कन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्दनारायण मानन्धरले गुनासो गर्नुभयो ।
पढाइ मात्रै होइन, विद्यालय प्राङ्गणमा जथाभावी बालुवा, गिटीलगायतका निर्माण सामग्री थुपारिदिँदा खेलमैदान तथा अतिरिक्त क्रियाकलाप पनि प्रभावित भएको छ । नेपाल सरकारले पटक–पटक म्याद थपे पनि भवन पुनर्निर्माण सम्पन्न हुन सकेका छैनन् । दसवटै विद्यालय भवन निर्माण गर्न ठेक्का पाएको कम्पनीले पछिल्लो छ महिनादेखि विद्यालय भवनहरू अलपत्र पारेर छोडेको छ ।
गर्मी र चिसो समयमा कटेरामा पढाउँदा अति कष्ट भएको गुनासो गर्दै देवी मावि बोचका किशोर दाहालले भन्नुभयो, “कटेरामा एक कक्षाबाट आएको आवाजले अर्को कक्षामा बाधा पुग्दा सिकाइ राम्रो हुन सकेको छैन ।
कक्षा ११ र १२ को बिहानी कक्षामा जस्ताबाट तपतप शीत चुहिरहन्छ । कठ्याङ्ग्रिएर पठनपाठन गर्नुपर्दा भनेजस्तो सिकाइ हुन नसक्दाको नतिजाले देखाइरहे तापनि अर्को विकल्प नहुँदा कष्ट सहेरै पढाउनुपर्ने बाध्यता सात वर्षदेखि भोग्दै आएका छौँ ।”
भूकम्पका कारण क्षति भएका यहाँका ३६३ विद्यालय भवनमध्ये अधिकांश पुनर्निर्माण भइसकेका छन् ।
शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख शङ्करबाबु श्रेष्ठले भन्नुभयो, “यो कम्पनीले निर्माण जिम्मा लिएका कालिञ्चोक गाउँपालिकाका लापिलाङ मावि लापिलाङ र जनज्योति मावि र भीमेश्वर नगरपालिकाको पशुपति कन्या मावि चरीकोट भवन निर्माण हुन नसकेको हो ।
यस्तै भीमेश्वर नगरपालिकाको देवी मावि बोच, मेलुङ गाउँपालिकाको सत्यश्वर मावि पवटी, तामाकोसी गाउँपालिकाको कालिका मावि हावा, वैतेश्वर गाउँपालिकाको जनज्योति मावि पुतलीकाठ, बिगु गाउँपालिकाका थम्पु मावि आलम्पु र चित्रे मावि लादुक तथा शैलुङ गाउँपालिकाको शैलुङ माविको भवन निर्माण हुन सकेको छैन ।”