मकवानपुर समाचारदाता
हेटौँडा, मङ्सिर २६ गते । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचनबाट बागमती प्रदेश सभामा सात दलको प्रतिनिधित्व सुनिश्चित भएको छ। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीले प्रतिनिधित्व गर्ने भएको हो।
२०७४ को प्रदेश सभा निर्वाचनबाट प्रदेश सभा गठनको सुरुवातीमा प्रत्यक्ष र समानुपातिक प्रणालीबाट गरी आठ दलको प्रदेश सभामा प्रतिनिधित्व रहेको थियो। कांग्रेस, एमाले, माओवादी केन्द्र, विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी
(प्रजातान्त्रिक) र नयाँ शक्ति पार्टीका प्रदेश सभा सदस्यहरू प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। बागमती प्रदेश सभाको पहिलो कार्यकालमा कांग्रेस, एमाले, माओवादी केन्द्र, नेपाल मजदुर किसान पार्टी र नयाँ शक्ति पार्टीका उम्मेदवारले मात्र प्रत्यक्ष प्रणालीबाट प्रदेश सभा सदस्य जितेका थिए।
विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)को अघिल्लो प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीबाट मात्र प्रतिनिधित्व भएको थियो।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट प्रदेश सभामा प्रवेश पाएको नयाँ शक्ति पार्टीबाहेक कांग्रेस, एमाले, माओवादी केन्द्र र नेपाल मजदुर किसान पार्टीका सदस्यहरूको समानुपातिक प्रणालीका लागि प्रदेश सभामा प्रतिनिधित्व रहेको थियो।
नयाँ शक्ति पार्टीले समानुपातिक प्रणालीबाट प्रदेश सभा सदस्य चयन हुन आवश्यक मत प्राप्त गर्न नसकेका कारण समानुपातिक प्रणालीबाट प्रतिनिधित्व गर्नबाट वञ्चित भएको थियो।
यस पटक प्रत्यक्ष प्रणालीबाट निर्वाचित सबै दलले समानुपातिक प्रणालीबाट प्रदेश सभामा प्रतिनिधित्व गर्न आवश्यक मत पाएकाले समानुपातिकतर्फसमेत प्रदेश सभा सदस्य सुनिश्चित भएको छ।
पहिलो प्रदेश सभामा तीन जना समानुपातिकतर्फका प्रदेश सभा सदस्य पाएको विवेकशील साझा पार्टीले प्रत्यक्षमा जित्न र समानुपातिकका लागि आवश्यक मत नपुग्दा यो पटक प्रदेश सभाबाट बाहिरिएको छ।
उता नयाँ दल हाम्रो नेपाली पार्टीले काठमाडौँ प्रतिनिधि सभा क्षेत्र नं. ८ को (क)बाट एक जना प्रत्यक्ष प्रणालीबाट जितेको र एक जना समानुपातिक प्रणालीबाट गरी प्रदेश सभाको दोस्रो कार्यकालमा दुई जना प्रदेश सभा सदस्यले प्रदेश सभामा प्रवेश पाएका छन्।
दलहरू एकीकरण र विभाजन
प्रदेश सभाको पहिलो कार्यकालमा राजनीतिक दलहरूको टुटफुट र एकीकरण प्रभाव बागमती प्रदेश सभामा समेत परेको थियो।
पहिलो प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा वाम गठबन्धन गरेका प्रदेश सभाको पहिलो कार्यकालमा एमाले र माओवादी केन्द्र एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्दै प्रदेश सभामा दुई तिहाइ बहुमत पुगेको थियो।
तर पार्टीको केन्द्रको राजनीति र टुटफुटमा लाग्दा एकीकरण भएको केही समयपछि बागमती प्रदेश सभा संसदीय दलसमेत विभाजित बन्न पुग्यो।
केन्द्रमा पार्टीभित्रको विवाद र अदालतको निर्णयपछि पुनः माओवादी केन्द्र र एमाले छुट्टाछुट्टै पार्टी भएको मात्र होइन प्रदेश सभामा समेत एमाले नै विभाजित भयो।
प्रदेश सभामा ५८ सिट रहेकोमा एमालेका भक्तपुरबाट निर्वाचित प्रदेश सभा सदस्यको निधनपछि भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार पराजित भएर कांग्रेसका उम्मेदवार निर्वाचित भएपछि एमाले प्रदेश सभामा सभामुखसहित ५७ सिटबाट ४४ सिटमा झरेको थियो। एमालेबाट विभाजित भई बनेको नेकपा (एकीकृत समाजवादी) १३ जना प्रदेश सभा सदस्यले रोजेका थिए।
तीन जना प्रदेश सभा सदस्य रहेको विवेकशील साझा पार्टी केन्द्रमा विभाजित भएपछि भएपछि दुई जना एकातर्फ र एक जना अर्कोतर्फ लागेकोमा पुनः पार्टी एकीकरण भएको थियो।
यसअघि प्रत्यक्ष प्रणालीबाट एक सिट जितेको नयाँ शक्ति पार्टी पछि जनता समाजवादी पार्टी नेपालसँग एकीकरण गरेकामा यस पटक जसपाका उम्मेदवार निर्वाचित भएका छैनन्। यसैगरी पहिलो प्रदेश सभामा समानुपातिकबाट एक–एक जना प्रदेश सभा सदस्य पाएका राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) पछि एकीकरण भएर राप्रपा बनेको थियो।
प्रदेश सभाको पहिलो कार्यकालको अन्तिम समयमा आइपुग्दा कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, विवेकशील साझा पार्टी, राप्रपा, जसपा र नेपाल मजदुर किसान पार्टी गरी आठ पार्टी पुगेका थिए।