• १३ असोज २०८१, आइतबार

चरिकोटको बसपार्कमा अलपत्र सरकारी गाडी

blog

सडकमा अलपत्र सरकारी गाडी । तस्बिर : सुजन काफ्ले

सुजन काफ्ले

दोलखा, मङ्सिर २५ गते। दोलखा सदरमुकाम चरिकोटको बसपार्कमा एउटा सरकारी गाडी अलपत्र अवस्थामा थन्किएको छ। बा १ झ ५४८९ नम्बरको गाडी एक वर्षदेखि चरिकोट जिरी सडक छेउमा थन्किएको हो। 

लामो समयदेखिको घामपानीले गाडी खुइलिएको छ। गाडी थोत्रिएर कवाडी बन्दै गएको छ। सरकारी कार्यालयमा चल्दा चल्दैको गाडी थन्किएपछि लाखौँ रुपैयाँ नोक्सानी भएको छ। 

लामो समयदेखि गाडी थन्किँदा इन्जिन र पार्टपुर्जामा खिया लागिसकेको छ भने टायर काम नलाग्ने अवस्थामा पुगेको छ। अलपत्र गाडी वरपर घाँस उम्रेको छ। गाडी कसको हो र किन राखिएको भन्ने थाहा नभएको स्थानीय श्याम श्रेष्ठको भनाइ छ। 

गाडी जिल्ला समन्वय समिति दोलखाले कार्यालय प्रयोजनको लागि कालिन्चोक गाउँपालिकालाई हस्तान्तरण गरेको पाइएको छ। यता कालिन्चोक गाउँपालिकाका प्रशासकीय अधिकृत नवराज ओलीले गाडी मर्मतमा धेरै खर्च आउने भएकाले मर्मत गरेर चलाउने अवस्था नरहेको बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘हाम्रो गाउँपालिकालाई गाडी हस्तान्तरण गरिएको हो। गाडी मर्मत गरेर चलाउन सक्ने अवस्था नभएपछि फिर्ता गर्ने तयारी भइरहेको छ।’ 

यता जिल्ला समन्वय अधिकारी होमप्रसाद घिमिरेले सो गाडी कालिन्चोक गाउँपालिकालाई हस्तान्तरण गरिएको बताउनुभयो। आफ्नो कार्यालयले गाउँपालिकालाई हस्तान्तरण गरिसकेकाले व्यवस्थापनको जिम्मा गाउँपालिकाको भएको उहाँको भनाइ छ। गाउँपालिकाले गाडी अलपत्र पारेर सडकमा अवरोध पुग्नेगरी राखेको जानकारी भएकाले त्यसलाई व्यवस्थापन गरिने उल्लेख गर्नुभयो।