• १३ असोज २०८१, आइतबार

गौरवको आयोजनामा लापरवाही

blog

नवराज श्रेष्ठ

रामेछाप, मङ्सिर २५ गते । रामेछापको मन्थली नगरपालिकाको गौरवको आयोजना स्विमिङ पुल (पौडी पोखरी)सहितको तीनलाल स्मृति पर्यटकीय पार्क निर्माणको काममा निर्माण कम्पनीको लापरबाही देखिएको छ । निर्माणको जिम्मा पाएको कम्पनीले आयोजना निर्माणमा चरम लापरबाही गरेपछि तीन÷तीन पटक म्याद थप गर्दासमेत निर्माण सम्पन्न भएको छैन । जसका कारण मन्थली नगरपालिकालाई आफ्नो गौरवको आयोजना तीनलाल स्मृति पर्यटकीय पार्क निर्माण गरी सञ्चालन गर्न चुनौती बनेको छ । 

मन्थली नगरपालिका वडा नं. १ हाटेचौरमा १५ महिनामा निर्माण सम्पन्न गर्ने गरी आर्थिक वर्ष २०७७र७८ को भदौबाट पाँचपोखरी कन्स्ट्रक्सनले यो आयोजना निर्माणको काम सुरु गरेको थियो । निर्माण कम्पनीले समयमै काम नगर्दा पटक/पटक थप गरिएको समयसहित गत वैशाखबाट नगरको गौरवको आयोजना सञ्चालन गर्ने पूर्वनगरप्रमुख रमेशकुमार बस्नेतको सपना पनि पूरा हुन सकेन । 

गत वैशाख ३१ गते भएको निर्वाचनबाट निर्वाचित नगरप्रमुख लवकुमार श्रेष्ठसहितका जनप्रतिनिधिहरूले पटकरपटक ताकेता गर्दा पनि यो आयोजना निर्माण सम्पन्न गरी सञ्चालन हुन अझै सकेको छैन । पार्कको करिब–करिब काम सकिएको भए पनि निर्माणको जिम्मा लिएको कम्पनीले स्विमिङ पुलको केही प्राविधिक काम र केही विद्युत् अनि सरसफाइको काम नसक्दा सञ्चालन हुन नसकेको मन्थली नगरपालिकाको प्राविधिक शाखाका प्रमुख डिल्ली अधिकारीले बताउनुभयो । 

“निर्माण कम्पनीले यो आयोजनाको धेरै काम गरिसकेको छ, स्विमिङ पुलको टेक्निकल काम र केही वाइरिङ अनि सरसफाइको काम गर्न बाँकी छ, अहिले काम सुरु भएको भन्ने जानकारी आएको छ,” उहाँले भन्नुभयो । यो आयोजना सम्पन्न गर्न तीन/तीन पटक म्याद थप गर्दा पनि निर्माण कम्पनी गम्भीर नभइदिएकाले अब मन्थली नगरपालिकाले म्याद थप नगर्ने उहाँले बताउनुभयो । 

मन्थली नगरपालिका प्रमुख श्रेष्ठले अन्तिम पटक थपिएको म्याद मङ्सिर महिनाभित्र काम सम्पन्न गर्ने प्रतिबद्धताअनुसार निर्माण कम्पनीले अहिले काम सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “निरन्तरको दबाबपछि निर्माण कम्पनीले थप भएको म्यादभित्रै काम सम्पन्न गर्ने प्रतिबद्धतासहित काम सुरु गरेको छ । अब चाँडै यो आयोजना सञ्चालन गर्छौं ।”

निर्माणको जिम्मा लिएको पोखरी कन्स्ट्रक्सनका सञ्चालक बुद्धिबहादुर कार्कीले दुई÷चार दिन ढिला भए पनि समयमै काम सम्पन्न गर्ने गरी काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्विमिङ पुलका केही सामग्री नेपालमा नपाउने भएकाले अन्य देशबाट मगाउनु पर्दा ढिला भएको हो । अहिले आवश्यक सबै सामानहरू आइसकेको र समयमै काम सक्ने गरी जनशक्ति परिचालन गरिएकाले निर्माण सम्पन्न गर्न लामो समय लाग्दैन ।”

छ करोड ८८ लाख रुपियाँमा सम्झौताको १५ महिनामा काम सम्पन्न गर्ने गरी पाँचपोखरी कन्स्ट्रक्सनले ठेक्का लिएको थियो । यो पार्कका लागि मन्थली नगरपालिकाले चार करोड रुपियाँ र सङ्घीय सरकारले दुई करोड ८८ लाख रुपियाँ लगानी गरेको छ । ११ सय वर्गमिटरमा फैलिएको पार्कमा तीनवटा स्विमिङ पुल, सभाहल, प्रशासकीय भवन, चेन्जिङ रुम, चमेनागृहलगायतका संरचना बनेका छन् । एकै पटक तीस जनाभन्दा बढीले पौडी खेल्न सक्ने गरी महिला, पुरुष र बालबालिकाका लागि छुट्टाछुट्टै स्विमिङ पुल निर्माण गरिएको छ ।