• १२ मंसिर २०८१, बुधबार

गाउँपालिका कार्यालयमै थन्कियो एम्बुलेन्स

blog

गाउँपालिका कार्यालयमा थन्किएको एम्बुलेन्स।तस्बिर : सुजन काफ्ले

सुजन काफ्ले 

दोलखा, मङ्सिर २४ गते। जिल्लाको तामाकोसी गाउँपालिकामा सञ्चालित एम्बुलेन्स कार्यालयमा नै थन्किएको छ। व्यवस्थापनमा लापरबाही र पालिकाको बेवास्ताले एम्बुलेन्स अलपत्र बनेको स्थानीय सुन्दर कार्कीले बताउनुभयो।  

नेपाली कांग्रेस नेता जिपछिरिङ लामाले सहयोग गरेको एम्बुलेन्स बिग्रेर महिनौँ भइसक्दा पनि मर्मतमा कसैले वास्ता नगर्दा  अलपत्र रहेको कार्कीको भनाइ रहेको छ।

पटक पटक महँगो भाडा लिएर सो एम्बुलेन्स सेवा विवादमा आउने गरेको थियो। गाउँपालिकाको एम्बुलेन्स बिग्रेर थन्किएको चार महिना भन्दाबढी भइसकेको छ। 

एम्बुलेन्स कार्यालय परिसरमा खिया लाग्ने गरी थन्किएको छ। यतिका समय एम्बुलेन्स थन्किँदा इन्जिन र पार्टपुर्जामा खिया लागेको छ । 

गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले चाहिएको बेला कार्यालयको गाडिबाट सेवा सुविधा पाउने भएपछि सर्वसाधारणको काममा आउने एम्बुलेन्समा कसैको ध्यान नपुगेको स्थानीयको आरोप छ।

कार्यालयमा बिग्रेर राखिएको एम्बुलेन्सको मर्मत गर्नतर्फ कसैको चासो छैन। बरु नयाँ एम्बुलेन्स खरिदको प्रक्रियामा जनप्रतिनिधि र कर्मचारी  जुटेका छन्।

यता गाउँपालिका प्रशासकीय अधिकृत गोरखनाथ मिश्रले एम्बुलेन्स बिग्रिएर नचलेको बताउनुभयो।  कार्यालयमा एम्बुलेन्स थन्केको स्विकार्दै उहाँले  एम्बुलेन्स बिग्रिएर थन्किएको जानकारी गराउनुभयो।