• १३ असोज २०८१, आइतबार

मेलम्ची क्षेत्रमा पुलको सर्भे

blog

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, मङ्सिर २४ गते । गत वर्षको मेलम्ची बाढीले बगाएका मेलम्ची क्षेत्रका पक्की पुलहरूमा बेलिब्रिज निर्माणका लागि सर्भे गरिएको छ । 

चरीकोट–मेलम्ची–इन्द्रावती जोड्नका लागि ६५ मिटर लम्बाइ र ५ दशमलव ६० मिटर चौडाइ रहेको पुलको सर्भे गरिएको सडक डिभिजन प्रमुख अर्जुन सुवालले जानकारी दिनुभयो । त्यस्तै मेलम्ची नजिकै रहेको फट्टे हुँदै दुवाचौर, बाँसखर्क, शेर्माथान जोड्ने ८७ मिटर लम्बाइ र सात मिटर चौडाइको पुल, तालामाराङबाट दुवाचौर हुँदै विभिन्न गाउँ जोडने पुलको पनि सर्भे गरिएको छ । 

सिन्धुपाल्चोकको प्रतिनिधि सभा क्षेत्र नं. २ का सांसद मोहनबहादुर बस्नेतको पहल र बागमती प्रदेश सभाका नवनिर्वाचित सदस्य कृष्णकुमार तामाङ (समीर)को नेतृत्वमा सडक डिभिजन कार्यालय चरीकोटबाट आएको टोलीले मेलम्ची बाढीले बगाएका स्थानमा बेलिब्रिज राख्न सर्भे गरेको हो । सिन्धुपाल्चोकको प्रतिनिधि सभा क्षेत्र नं. २ का सांसद मोहनबहादुर बस्नेतको पहलमा मेलम्ची बाढीले बगाएका पुलहरूमा सर्भे गरिएको हो ।

पुल निर्माणपछि मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका र पाँचपोखरी गाउँपालिकाका नागरिक लाभान्वित हुनेछन् । बाढीले पुल बगाएपछि स्थानीयले आवागमनमा सास्ती भोग्दै आएका छन् । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले तत्कालका लागि बेलिब्रिजका काम गर्ने र क्रमागत रूपमा पक्की पुल निर्माणका काम अघि बढ्ने जानकारी दिनुभयो । पुल निर्माणपछि स्थानीयलाई आवतजावतमा सहज हुने मेलम्ची नगरपालिका–९ का राजन पुरीले बताउनुभयो । सांसद बस्नेतले हेलम्बु गाउँपालिकाको तिम्बु र नाकुते जोड्ने पुल, चौतारा साँगाचोकगढी नगरपालिकाको स्याउले, इन्द्रावती गाउँपालिकाको सिम्पाल काभे्रलगायतका स्थान जोड्ने पक्की पुलको विस्तृत परियोजना तयार गरी बोलपत्र आह्वान प्रक्रियाको काम अघि बढाइने बताउनुभयो ।