जीवछ यादव
लहान, जेठ ६ गते । लहान नगरपालिका–१५ ढोडनास्थित धार्मिक तथा पर्यटकीय स्थल राजदेवी मन्दिरमा वैशाख चण्डीपूर्णिमाको मेलाबाट भएको आय–व्यय सार्वजनिक सुनुवाइमार्फत सार्वजनिक गरिएको छ ।
श्री राजदेवी पञ्चावती मन्दिर संरक्षण विकास समिति, लहान–१५ का कोषाध्यक्ष वीरेन्द्र चौधरीले सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रस्तुत गरेको विवरणअनुसार बोका–पाठी रसिदबाट १३ लाख ८५ हजार ७००, बजार स्टलबाट दुई लाख ५६ हजार ४०, चन्दा सहयोग रसिदबाट दुई लाख ६२ हजार ९५६, सुनबाट १२ लाख ४४ हजार ५००, चाँदीबाट एक लाख पाँच हजार ५००, आठवटा गढीको बेहरीबाट दुई लाख नौ हजार ५००, दानपेटिकाबाट पाँच लाख ७१ हजार २४० तथा छुट रकम १०० रुपियाँ गरी कुल ४० लाख ३५ हजार ५४५ रुपियाँ आम्दानी भएको जानकारी गराइयो ।
त्यसैगरी ३५ वटा शीर्षकमा २१ लाख पाँच हजार ८४० रुपियाँ खर्च भएको र १९ लाख २९ हजार ७०५ रुपियाँ बचत भएको विवरण सार्वजनिक गरिएको छ ।
लहान नगरपालिकाका प्रमुखले सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै वर्षेनी करिब एक करोड रुपैयाँ आम्दानी हुने यस मन्दिरको आन्तरिक कोष आत्मनिर्भर रहेको र अन्य धार्मिक पर्यटकीय स्थलको तुलनामा निकै अगाडि रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यस वर्ष लहान नगरपालिकाले मन्दिर परिसरको सौन्दर्यकरणका लागि २५ लाख रुपियाँ विनियोजन गरेको छ । शनिबार अत्यधिक भीड लाग्ने भएकाले दर्शनार्थी तथा पर्यटकको मनोरञ्जनका लागि मन्दिर परिसरभन्दा करिब ३०० मिटर उत्तरतर्फ रहेको १० बिघा ऐलानी जग्गामा मानव निर्मित ताल निर्माण सुरु गर्न लागिएको छ ।”
लहान नगरपालिका–१५ का वडाध्यक्ष तेजनारायण चौधरीले बहुउद्देश्यीय पोखरी निर्माणका लागि केयर नेपालले १० लाख रुपियाँ आर्थिक सहयोग गरेको र लहान नगरपालिकाले जेसीबी तथा टिपर सहयोग उपलब्ध गराएको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त पोखरी एक महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
उहाँले पोखरीको पानी पाँच सय बिघा क्षेत्रमा सिँचाइ, पर्यावरणीय पर्यटन, स्थानीयवासीको जीविकोपार्जनका लागि माछापालन तथा भूजल रिचार्जमा उपयोग गरिने बताउनुभयो । साथै, तालमा डुङ्गा सञ्चालन गर्ने योजना पनि रहेको उहाँको भनाइ छ ।
राजदेवी मन्दिरले आय–व्यय पारदर्शी बनाउँदै जनसहभागिता बढाइरहेको छ । मन्दिर परिसरमा संसदीय कोष, मधेश प्रदेश सरकार तथा स्थानीय उद्योगी–व्यवसायीको सहयोगमा करोडौँ रुपैयाँ लगानी गरी धर्मशाला र महादेव मन्दिरसमेत निर्माण गरिएको छ ।
मन्दिरमा भाकल गरे मनोकामना पूरा हुने तथा पारिवारिक सुख–शान्ति प्राप्त हुने जनविश्वास रहेकाले यहाँ दैनिक रूपमा भक्तजनको आगमन हुने गरेको छ । कम समयमै यो स्थल धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको स्थानीयवासी बताउँछन् । सार्वजनिक सुनुवाइ कार्यक्रम मन्दिर संरक्षण समितिका अध्यक्ष पशुपति चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।