• ११ मंसिर २०८१, मङ्गलबार

गणपूरक सङ्ख्या पुर्‍याउन हम्मे

blog

काठमाडौँ, साउन ९ गते । प्रतिनिधि सभाका पछिल्ला बैठकमा गणपूरक सङ्ख्या नपुग्ने समस्या देखिन थालेको छ। संसद्मा एकै दिनमा तीन पटकसम्म गणपूरक यकिनको माग उठेको छ। त्यसमा पनि प्राविधिक रूपमा दुई/चार जना सदस्य बढी उपस्थित भएर गणपूरक सङ्ख्या पुग्ने गरेको छ। आइतबार एक घण्टाको अवधिमा तीन पटक सङ्ख्या यकिनको माग भयो। जसमा दुई पटक गणपूरक सङ्ख्या नै पुगेन। असार २२ गते पनि एकै दिन तीन पटक गणपूरक सङ्ख्या यकिन माग भएको थियो। त्यसयता पनि हरेक बैठकमा गणपूरक सङ्ख्यामा समस्या भइरहेको छ। 

आइतबार कारागार विधेयक पारितको प्रस्ताव पेस भएपछि नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले गणपूरक सङ्ख्या यकिन माग गर्नुभएको थियो। सङ्ख्या यकिन गर्दा ६७ जना मात्र पुग्यो। गणपूरक सङ्ख्या नपुगेपछि बैठक १५ मिनेट स्थगित गरिएको थियो। संविधानको व्यवस्थाअनुसार कुनै पनि प्रस्ताव र प्रश्नलाई निर्णयका लागि पेस गर्न सदनको कुल सङ्ख्याको कम्तीमा एक चौथाइ सदस्य आवश्यक पर्छ। जसअनुसार ६९ सदस्य आवश्यक हुन्छ।

दोस्रो बैठकमा पुनः विधेयकलाई निर्णयार्थ पेस गर्दा पनि सुवालले नै सङ्ख्या यकिनको माग गर्नुभयो। तर उक्त समय भने दुई जना सङ्ख्या बढी हुँदा सङ्ख्या पुग्यो। गणपूरक यकिनमा ७१ जनाको उपस्थिति थियो। त्यसपछि ७१ जनाको उपस्थितिले कारागार विधेयक पारित भयो। पारित विधेयक अब राष्ट्रिय सभामा जाने छ। 

विधेयक पारितपछि सदनमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् प्रस्ताव पेस भयो। उक्त प्रस्तावमा छलफलपछि राष्ट्रिय सभाको संशोधन स्वीकार गर्ने प्रस्ताव सभामुख अग्निप्रसाद सापकोटाले पेस गर्नुभयो। प्रस्ताव पेस गर्न साथ पुनः सांसद सुवालले नै गणपूरक यकिनको  माग गर्नुभयो। सङ्ख्या यकिन गर्दा ५७ जनाको मात्र उपस्थिति थियो। गणपूरक सङ्ख्या नपुगेपछि बैठक मङ्गलबारसम्मका लागि स्थगित भएको छ। त्यसअघि विशेष समयमा एमाले सांसद भीमबहादुर रावलले एसपीपीमा संलग्न नहुनेबारे नेपाल सरकारले गरेको निर्णय र पत्राचार सदनलाई जानकारी दिन सभामुखबाट भएको रुलिङ कार्यान्वयन नभएको भन्दै सरकारको आलोचना गर्नुभयो।