• २ भदौ २०८१, आइतबार

मधेश प्रदेश सरकारद्वारा प्रमको ध्यानाकर्षण

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, साउन ९ गते ।  मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालगायतका सत्ता गठबन्धन दलका नेतृत्वसमक्ष विभिन्न माग राखी ध्यानाकर्षण पत्र बुझाएको छ । 

प्रतिनिधिमण्डमा सहभागी मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहका अनुसार आइतबार विभिन्न माग राख्दै प्रधानमन्त्री देउवा र अन्य राजनीतिक दलका शीर्ष नेतृत्वसमक्ष ध्यानाकर्षण पत्र बुझाएको हो । 

ध्यानाकर्षणपत्र बुझेपछि प्रधानमन्त्री देउवाले प्रदेश सरकारका मागहरू जायज रहेका र मागप्रति आफू सकारात्मक रहेको बताउनुभएको मन्त्री साहले  जानकारी दिनुभयो । 

मन्त्री साहका अनुसार मधेश प्रदेशको स्थायी राजधानीबारे टुङ्गो लागिसकेकोले विभिन्न मन्त्रालय, मन्त्री आवासलगायतका संरचनाको निर्माण गर्न जग्गा उपलब्ध गराउन, निर्माण गर्न आर्थिक स्रोतको व्यवस्था गर्न तथा प्रहरी समायोजनका लागि सङ्घीय सरकारलाई ध्यानाकर्षण पत्र बुझाइएको छ।

हाल मधेश प्रदेशको सरकारी संरचना रहेको मधेश भवन (जनकपुर चुरोट कारखाना) र प्रदेश सभा रहेको स्थल लगायतका स्थानमा स्थायी संरचना निर्माणका लागि सिफारिस गरिएका जग्गाहरू प्रदेश सरकारको नाममा हस्तान्तरण गर्न पनि ध्यानाकर्षण गरिएको छ। 

ध्यानाकर्षण पत्रमा आगामी निर्वाचन अगावै प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न तथा जिल्ला प्रशासनलाई प्रदेश सरकार मातहतमा ल्याउन आवश्यक निर्णयको पनि माग गरिएको छ।