• २ मंसिर २०८२, मङ्गलबार

बागमती नदी किनारका बेवारिसे सवारी साधन हटाउन सुरु

blog

तस्बिर सहरी विकासमन्त्रीको निजी सचिवालय

काठमाडौँ, मङ्सिर २ गते। बागमती नदीको गुहेश्वरी–गोकर्णेश्वर मन्दिर खण्डको नदी किनारमा अलपत्र अवस्थामा रहेका सवारी साधन हटाउन सुरु गरिएको छ। 

गोकर्णेश्वर नगरपालिका–५ जम्मुडाँडास्थित प्रहरी चौकी नजिक रहेका सवारी साधनलाई मंगलबार हटाइएको छ। 

सहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार बागमती नदी करिडोर क्षेत्रको स्थलगत निरीक्षण गरी नदीलाई सफा राख्न किनारमा राखिएका बेवारिसे सवारी साधन तत्काल हटाउन र ढल व्यवस्थापन गर्न निर्देशन दिनुभएको थियो। 

जम्बुडाँडामा करिब १२० मिटर जाम हुँदा ढल बागमती नदीमा सिधै मिसिएको छ। ढल फुटेका कारण सडकमा क्षति पुगेको छ। ढल मर्मत पनि सुरु गरिएको छ। साथै, गुहेश्वरीबाट माथिल्लो तटीय क्षेत्रमा नदी थ्रुपिएको बालुवा तथा फोहोर पनि हटाइने भएको छ। यसका लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आवश्यक तयारी गरिरहेको छ।