ठाकुरप्रसाद आचार्य
म्याग्दी, मङ्सिर २ गते । बिहानीपख घामको किरण गुर्जा गाउँमा परिसकेको थियो । भेडापालक कृषक दुर्गा विश्वकर्मालाई जङ्गलमा भेडा चराउन लैजाने हतारो थियो । चिसो मौसम सुरु भएसँगै भेडाबाख्राहरु यतिखेर हिमालको फेदीबाट गाउँ झरेका छन् ।
गाउँ नजिक रहेको भेडाको गोठमा भेटिनुभएका ४३ वर्षीय विश्वकर्माले भन्नुभयो, ‘‘मलेशिया र कतारमा चार÷चार वर्ष गरेर आठ वर्ष विदेशमा बिताएँ । विदेशभन्दा आफ्नै गाउँठाउँमा पशुपालन गर्दा परिवार खुसी छन् । भेडापालनको आम्दानीले परिवारमा नुनतेल खानलगायत घरखर्ची राम्रोसँग चल्नुका साथै आर्थिक रुपमा परिवार आत्मनिर्भर भएको छ ।’’ परिश्रम गर्नसकेमा पैसा आफ्नै डाँडापाखामा भएको उहाँले सुनाउनुभयो ।
‘‘वार्षिक रुपमा करिब पाँचलाख रुपियाँ बराबरका भेडाबाख्रा बिक्री गर्ने उहाँले बताउनुभयो । स्वदेशमा भन्दा विदेशमा राम्रो देखेर विदेश गएँ तर दुःख पाइयो, त्यसपछि गाउँ फर्किएर भेडापाल्न थालेको हो ।,’’ कृषक विश्वकर्माले भन्नुभयो, ‘‘अब विदेश जाने मन छैन । भेडापालनमा राम्रो आम्दानीको सम्भावना छ । यो पेसामा धेरै दुःख भए पनि आत्मसन्तुष्टी मिलेको छ ।’’
परिश्रम गरेर जोडेको पैसाले सुरुमा तीनवटा भेडा खरिद गरेर भेडा पाल्न थाल्नुभएको विश्वकर्माका गोठमा अहिले पाठापाठी र गरेर ९० वटा भेडाबाख्रा पुगेका छन् । अहिले वर्षमा २५ वटा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘प्रति भेडा १२ हजार देखि २५ हजार रुपियाँ सम्ममा बिक्री हुन्छन् । गाउँघरमा हुने पूजाहरुमा भेडाको माग उच्च छ । हामी गुर्जाको सुकुम्बासी हौं । भेडापालनबाट एउटा सानो घर पनि बनाएको छु ।’’
गाउँपालिकाबाट भेडामा खोप, गोठला बस्ने प्लाष्टिक घर, मोबाइल चार्ज गर्ने सोलार उपलब्ध गराएको उहाँले बताउनुभयो । गाउँपालिकाबाट खटिएका पशु प्राविधिकहरुले भेडाबाख्रामा रोग लागेर बिरामी हुँदा गोठमा आइ औषधीउपचार गरिदिने उहाँले बताउनुभयो ।
हिउँदमा हिमपात हुँदा राख्ने व्यवस्थित गोठ बनाउन स्थानीय सरकारले सहयोग गरे सजिलो हुने उहाँले बताउनुभयो । ‘‘गाउँकै स्रोत र साधनलाई उपयोग गरी आयआर्जन गर्ने गुर्जालीहरुको प्रमुख पेशा पशुपालन हो । गोठमा बस्नु र गोठालो बनेर जीवन बिताउनु कठिन भए पनि आफू जन्मेको ठाउँमा परिश्रम गर्दा मनमा शान्ति मिल्ने रहेछ,’’ उहाँले भन्नुभयो ।
परम्परादेखि फिरन्ते रुपमा पालिँदै आएका भेडालाई स्याल, बाघ, भालु जस्ता वन्यजन्तुबाट भेडाबाख्राको सुरक्षामा समस्या छ ।
सरुवा रोगको पनि समस्या छ । जलवायु परिवर्तनको प्रभावले मात्र देखिने खोरेत, निमोनिया, पीपीआर जस्ता रोग हिमाली क्षेत्रमा पनि देखिन थालेको छ । गाउँपालिकाको पशुसेवा शाखाले रोगबाट भेडाबाख्राको सुरक्षाका लागि पूर्ण खोप अभियान, किसानलाई तालिम, औषधी, गोठ निर्माण लगायतमा सहयोग गर्ने गरेको गाउँपालिकाका पशुसेवा शाखा प्रमुख चन्द्रकला दाहालले बताउनुभयो ।