राममणि दाहाल
हेटौँडा, मङ्सिर २ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा भएको एन्फा प्रेसिडेन्ट लिग–२०२५ को उपाधीका लागि कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसीबिच मङ्गलबार फाइनल खेल हुँदैछ ।
दुबै टिमले हेटौँडा उपमहानगरपालिका ६ स्थित गौरीटार रंगशालामा दिउँसो २ बजे फाइनल खेल हुने उपाधी हात पार्ने दाबी गरेका छन् ।
मकवानपुरको पर्यटकीय एवम् ऐतिहासिक स्थल मकवानपुरगढी पसिरसरमा भएको प्रि–म्याच कन्फ्रेन्समा दुबै टिमका प्रशिक्षक र कप्तानले उपाधी आफ्नो पक्षमा पार्ने बताएका हुन् । फाइनल खेलमा कडा प्रतिस्पर्धा हुने भएको छ ।
यसअघि लिगचरणको खेलमा लालीगुराँसले चित्लाङलाई पराजित गरेको थियो ।
लालीगुराँसका प्रशिक्षक किरण श्रेष्ठले चित्लाङसँग यसअघि भएको खेलमा आफ्नो टिमले उत्कृष्ट प्रदर्शन गर्दै जितेको भन्दै अहिले पनि खेलाडीको तालमेल मिलेको छ र उत्तेजित नभई खेल्ने भएकोले उपाधी आफ्नो टिमको पोल्टामा आउने बताउनुभयो ।
लालीगुराँस लिगमा एकमात्र अपराजित टोली हो । यस्तै, चित्लाङका प्रशिक्षक सुमन श्रेष्ठले आफ्नो टिमको खेलमा सुधार भएकाले उपाधी जित्न खेलाडीहरु प्रतिबद्ध रहेको दाबी गर्नुभयो ।
फाइनलमा विजेता टिमले १० लाख रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने छ ।