• ३० कात्तिक २०८२, आइतबार

विद्युत प्रसारण लाइन विस्तारमा कोहलपुरका स्थानीयको अवरोध

blog

नेपालगन्ज कोहलपुर सडक खण्डमा विद्युत पोल विस्तार गरिँदैछ । तस्विर : सिराज खान

सिराज खान
नेपालगन्ज, कात्तिक ३० गते ।
३३ केभी विद्युत् प्रसारण लाइन विस्तारका क्रममा कोहलपुर क्षेत्रमा स्थानीयले लाइन विस्तारमा अवरोध गरेका छन् । लाइन विस्तार गर्दा स्थानीयहरूलाई सुरक्षा खतरा रहेको भन्दै लाइन विस्तारमा अवरोध गरेको उनिहरुको भनाइ  छ ।

नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जले पिप्रहवादेखि कोहलपुरस्थित सव–स्टेशनसम्म पोल गाड्ने काम गरिरहेको छ । काम भइरहेको समयमा कोहलपुरस्थित पिपिरी क्षेत्रमा स्थानीयले अवरोध गर्दा पोल विस्तारको काम रोकिएको छ ।

कोहलपुर–९ का स्थानीय इन्द्र गौतमले लाइन विस्तारगर्दा स्थानीय नागरिक र स्थानीय सरकारसँग समन्वय नगरिएको बताउनुभयो । उहाँले विकास गर्नु राम्रो काम भए पनि सम्बन्धित पक्षले समन्वयबिना नै काम गरेको जनाउँदै माग पूरा नभएसम्म काम अघि बढ्न नदिइने बताउनुभयो ।

पोल गाड्ने क्रममा खासगरी कोहलपुर नगरपालिका वडा नम्बर ८, ९ र १४ नम्बर वडाका नागरिकहरूले अवरोध सिर्जना गरिरहेका छन् । स्थानीय सरकार र स्थानीय नागरिकसँगको कुनैपनि सहमति र समन्वयबिना सुरु गरिएको काम रोकिनुपर्ने उनिहरुको भनाइ छ ।

तीन वटै वडाका वडाध्यक्षहरूले समेत उक्त कामप्रति असन्तुष्टि जनाएका छन् । कोहलपुर नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष ओपेन्द्रनाथ योगीले गोल्छादेखि पिप्रहवासम्म विद्युतका पोल गाड्ने काम भइरहेको जनाउँदै वडालाई कुनै जानकारी नदिएर काम सुरु गराइएको बताउनुभयो ।

कोहलपुर–१४ का वडाअध्यक्ष नमबहादुर आले मगरले वडाहरूमा जथाभावी पोल गाड्दा स्थानीयले रोकेको बताउनुभयो । उहाँका अनुसार अब संवादबाटै समाधान निकाल्नुपर्छ । कोहलपुर– ८ का वडाअध्यक्ष लालबहादुर रानाले लाइन विस्तार गर्दा कुनैपनि जानकारी नगराइएको जनाउँदै घर नजिकै पोल गाड्दा सुरक्षा जोखिम हुने हुँदा स्थानीयले अवरोध गरेको बताउनुभयो ।

उता, नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालयल नेपालगन्जले कोहलपुर क्षेत्रमा लाइन विस्तार गर्दा कार्यालयले नियमसंगतरूपमा काम गरिरहेको जनाएको छ ।

डिभिजन कार्यालयका प्रमुख दिपक गौतमले नेपालगन्ज–कोहलपुर सडकखण्डको पिप्रहवादेखि कोहलपुर–१० स्थित सव–स्टेशनसम्म विद्युतका पोल विस्तारको काम भइरहेको बताउनुभयो ।

उहाँले पोल विस्तार गर्दा स्थानीयहरूले घर नजिकै पोल गाडिएको गुनासो गर्दै विरोध जनाएको जानकारी पाएको जनाउँदै सहमति अनुसार काम अगाडि बढाइने बताउनुभयो । उहाँका अनुसार विद्युत् नियमावली २०५० अनुसार २५ मिटरको सडकमा पोल विस्तार गर्दा दुई मिटर छोड्नुपर्छ । तर प्राधिकरणले ४ मिटरसम्म छोडेर काम गरिरहेको छ ।