कालीकोट समाचारदाता
कालीकोट, कात्तिक ३० गते । रास्कोट नगरपालिकाले सङ्घ तथा प्रदेश सरकारको निर्णय अवज्ञा गर्दै आएको पाइएको छ । आर्थिक स्रोत नभएकाले करारमा राखिएका कर्मचारीलाई काममा नलगाउन कर्णाली प्रदेश सरकारले ऐनमार्फत गरेको निर्णय उल्लङ्घन गरेको हो । पछिल्लो पटक जेनजी समूहको आन्दोनलपछि बनेको सरकारको परिपत्रलाई समेत अवज्ञा गरेको पाइएको छ । रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीको निर्देशनमा नगरपालिकाभित्रका विभिन्न ठाउँमा विकासे बजेट खर्च हुने गरेर करारका कर्मचारी भर्ती गर्दै आएको छ । माथिल्लो सरकारको निर्देशन र ऐनविपरीत नगरप्रमुख शाहीको हालिमुहाली चलिरहेको स्थानीयले आरोप लगाएका छन् । हालै मात्र नगर प्रहरीमा ठुलो सङ्ख्यामा भर्ना गरेपछि यसको विरोध हुँदैआएको छ ।
नगरपालिकाले कात्तिक २१ गते जारी गरेको परीक्षाको अन्तिम सूचनामा विज्ञापन नं ०२/२०८२/२०८३ र ०३/२०८२/८३, मिति २०८२ भदौ ११ गतेको सार्वजनिक सूचना अनुसार विभिन्न चरणमा सञ्चालित शारीरिक तथा लिखित परीक्षा र मिति २०८२ कात्तिक २१ गतेको निर्धारित समयमा सञ्चालित अन्तर्वार्तासमेतको प्राप्ताङ्कको आधारमा योग्यता क्रम कायम गरी अन्तिम नजिता प्रकाशित गरिएको हो । दुई जना नगर प्रहरी हबलदार र सात जना नगर प्रहरी जबान गरी नौ जनालाई नगर प्रहरीमा उत्तीर्ण गरी करार सेवामा नियुक्त गरिएको छ । नगरपालिकाले जनस्वास्थ्य अधिकृत सातौँ तहको पदमा पनि एक जनालाई नियुक्त गरेको छ । विज्ञापन नं ०१/२०८२/२०८३, मिति २०८२ भदौ ११ गतेकै सूचना अनुसार मिति २०८२ साल कात्तिक २१ गतेको लिखित परीक्षा र २३ गतेको अन्तर्वार्तामा सफल उम्मेदवारले सात दिनभित्र निरोगिताको प्रमाणपत्रसहित नियुक्तिका लागि सम्पर्क गर्न सूचना गरेको छ । कर्णाली प्रदेश सरकार स्थानीय सेवा गठन तथा सञ्चालन ऐन २०८१ बमोजिम कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करार सेवामा नियुक्त गर्न नपाइने उल्लेख छ । ऐनविपरीत रास्कोट नगरपालिकाले भदौयता करारमा ती कर्मचारी नियुक्त गरेको छ ।
यसअघि नगरपालिकाले एक जना नगर प्रहरी हबलदारसहित १५ जना नगर प्रहरी नियुक्त गरेको थियो । अहिले नयाँसहित रास्कोटमा करारमा मात्र स्वास्थ्य र अन्य सेवाका गरी जम्मा दुई सय जना कर्मचारी छन् । प्रशासन शाखा प्रमुख डम्बर महराले विवरण दिनका लागि आफूले हाकिमसँग सम्पर्क गर्नुपर्ने भन्दै पूर्ण विवरण दिन मान्नुभएन ।
उता नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख हुकुम शाहीले नगर अस्पतालदेखि विभिन्न वडा र नगरपालिकामा गरी दुई सयभन्दा बढी करारका कर्मचारी रहेको र विद्यालयमा १५० जनाको हाराहारी गरी जम्मा ३५० जना कर्मचारी करारमा रहेको बताउनुभयो । अस्पतालमा दरबन्दी नभएकाले सबै करारका कर्मचारी हुन् । अन्य ठाउँमा पनि करारका कर्मचारी रहेकाले सङ्ख्या अझै बढ्ने शाहीको भनाइ छ । यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले आफू भर्खर आएकाले सबै कर्मचारीको सङ्ख्या लिन नपाएको बताउनुभयो । लामो समय निमित्तप्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गर्नुभएका जवानसिंह बमले आफूलाई पनि सङ्ख्या यकिन नभएको प्रतिक्रिया दिनुभयो ।