भोजपुर, कात्तिक ३० गते । ज्यानको जोखिम मोलेर काठको फड्केबाट खकुवाखोला तर्दै आएका यहाँका स्थानीयलाई झोलुङ्गे पुल बनेपछि सहजता भएको छ । षडानन्द नगरपालिका–७ र ११ लाई जोडने यो खोलामा ८० मिटर लामो पुल निर्माण भएपछि स्थानीयको वर्षौँको समस्या अन्त्य भएको हो ।
बर्खाको समयमा खोला ठुलो हुँदा तर्न नसकेर कतिपय समयमा खेतमा नै बास बस्नुपर्ने अवस्थामा पुल निर्माणले राहत मिलेको स्थानीयवासी चतुरमाया मगरले बताउनुभयो । विगतमा खेत आउँदा उर्लिँदो भेल तरेर जानुपर्ने समस्या रहेको उहाँको भनाइ छ । अब भने जोखिम मोलेर काठको फड्केबाट खोला तर्नुपर्ने अवस्थाको अन्त्य भएको उहाँले बताउनुभयो ।
“खकुवाखोलामा झोलुङ्गे पुल बनेपछि हाम्रो पुस्तौँदेखिको समस्या अन्त्य भएको छ”, उहाँले भन्नुभयो, “दैनिकजसो खेतीमा आउँदा यो खोला तर्नुपथ्र्यो । खोलापारि जान काठको फड्के थियो । त्यो फड्के पनि ठूलो खोला हुँदा बगाउथ्यो, पुल बनेपछि सहज छ ।”
यो खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयको दैनिकी सहज बनेको स्थानीयवासी दीपबहादुर मगरले बताउनुभयो । मुख्य रूपमा बर्खाको समयमा आवतजावतमा धेरै समस्या हुने गरेको उहाँको भनाइ छ । “पुल बनेपछि हामीलाई सहज भएको छ”, उहाँले भन्नुभयो, “यो पुलले दुईवटा वडाका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको छ ।”
यहाँ रु ४८ लाख १२ हजार ८२५ लागतमा पुल निर्माण सम्पन्न भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष मनिकुमार तामाङले बताउनुभयो । स्थानीयको समस्यालाई ध्यानमा राखेर खकुवाखोलामा झोलुङ्गे पुल निर्माण गरिएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले बताउनुभयो । नगरपालिका क्षेत्रमा आवश्यक पर्ने अन्य झोलुङ्गे पुलको तथ्याङ्क लिएर निर्माणको कामलाई योजनाबद्ध रूपमा अघि बढाएको उहाँले जानकारी दिनुभयो । रासस