ठाकुरप्रसाद आचार्य
गुर्जा, कात्तिक २७ गते । गोधुली साँझमा गुर्जा हिमालबाट घामको किरण अस्ताउन थालेसँगै चिसो बढेको थियो । भेडाबाख्रा र गाईगोरुका बथान साँझपख गोठतर्फ फर्किदै थिए । किसानहरु भेडाबाख्रालाई गोठमा हुल्न व्यस्त देखिन्थे ।
साँझपख गोठ फकिँदै गरेका भेडा र गाईगोरुको हुलले गाउँको परिवेशलाई रमणीय बनाएको थियो । दिनभर चरनका लागि जङ्गल गएका भेडाबाख्रा साँझ परेपछि गोठ फर्किने क्रममा देखिने दृश्यले गुर्जालीको परिश्रम र मौलिक जीवनशैलीलाई झल्काएको छ ।
केही बारीमा मकैको ढाेड पोलेर केहीले आगो तापिरहेका छन् । काममा गएकाहरु घर फर्किदै छन् । यी दृश्यले गाउँको मौलिक जीवनशैली र मेहनती संस्कृतिलाई झल्काउँछ । हिमालको काख, प्रकृति र मौलिकताको यही तालमेल म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाको पहिचान बनेको छ ।
छन्त्याल र विश्वकर्मा जातीको बसोबास रहेको गुर्जामा अहिले पनि पशुपालन र कृषि खेती गर्ने मौलिक संस्कृति जीवित रहेको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘गुर्जामा परम्परागत कृषि प्रणाली छ । पशुपालन र कृषि यहाँको मुख्य आम्दानीको स्रोत हो । बाउबाजेले अगालेको संस्कृति जीवित छ । परम्परागत रहनसहन र संस्कृतिको अध्ययन गर्ने थलो गुर्जा गाउँ हो ।’’
परम्परागत मौलिक संस्कृति र जीवनशैलाईलाई भावी पुस्ताले पनि सिको गर्न सकेमा गुर्जाको वास्तविक पहिचान संरक्षण हुने ६७ वर्षीय गोरे छन्त्यालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘नयाँ पुस्ता शिक्षा,रोजगारी र पेशा व्यवसाय गर्न सहरबजार झरेका छन् । उनीहरुले यहाँको मौलिक जीवनशैली भुलिसकेका छन् । भविष्यमा गाउँ फर्किएर यहाँको संस्कृति,जीवनशैली,रहनसहन र संस्कारलाई आत्मसात् गरिदिए हुने थियो ।’’