ग्रिकको पौराणिक कथा (मिथक) हरूमा पान्डोराको बक्स (बाकस) लाई सर्वाधिक चर्चित तथा गहिरो अर्थ बोकेको कथाका रूपमा प्रस्तुत गरिन्छ । पान्डोराको बक्स वर्तमान समयमा रूपक (मेटाफोर) का रूपमा प्रयोग भइरहन्छ । पान्डोराको बक्सको कथालाई विनाशको प्रतीकका रूपमा मात्र नहेरी आशाका रूपमा समेत अथ्र्याइन्छ । पान्डोरा बक्सले कुनै साधारण तथा सानो गल्तीबाट उत्पन्न हुने अनगन्ती जटिलता वा ठूलो समस्याबारे इङ्गित गर्छ ।
प्राचीन ग्रिक मिथक खासगरी हेसिओडको महाकाव्य थियोगनी र वक्र्स एन्ड डेजमा पान्डोरा बक्सको कथा छ । इसापूर्व सातौँ शताब्दीमा लिखित यी काव्यमा देवताद्वारा पान्डोराको सिर्जना र जयिसले पान्डोरालाई दिएको उपहार अन्ततः कसरी सारा पृथ्वीमा सङ्कट निम्त्याउन सफल रह्यो भन्ने प्रसङ्ग छ । पान्डोरा बक्सलाई सुरुमा पान्डोरा मटका (माटोबाट बनेको ठूलो जार) भन्ने गरिए पनि १६ औँ शताब्दीपछि भने यो कथा पान्डोरा बक्सका नामबाट बढी प्रचलनमा आयो ।
यस कथा अनुसार प्राचीन ग्रिसमा पान्डोरा नाम एक पौराणिक नारी पात्र थिइन् । जहाँ पान्डोरालाई पृथ्वीको पहिलो नारीका रूपमा लिइन्छ । कथामा वर्णन भए अनुसार सुरुमा पृथ्वी श्रम र दुःखबाट मुक्त थियो । पृथ्वी सबैतिर फूलले ढाकिएको थियो । नदीहरू दूध र महसहित बगिरहेका थिए । पृथ्वीमा मात्र मानिस बस्थे । जसको सृष्टिकर्ता प्रमिथस थिए । प्रमिथसले मानिसलाई माटोबाट बनाए ।
ती सबैलाई प्रमिथसले देवताहरूको आकार दिएका थिए । सोही कारण उनीसँग देवता ज्युस रिसाएका थिए । देवता ज्युस रिसाएकै बेला प्रमिथसले फेरि आकाशबाट आगो चोरेर मानिसलाई दिए । त्यसपछि ज्युसले प्रमिथससँग बदला लिने निर्णय गरे । सोही निर्णय अनुसार ज्युसले हिफेस्टस (फलामे शिल्पको देवता) लाई पान्डोरा (पहिलो महिला) को रचना गर्न आदेश दिए । ज्युसले पान्डोरा सृष्टि गर्न लगाउँदा उनले एथेनाबाट ज्ञान र सिप प्राप्त गरिन् । अफ्रोडाइटले उनलाई सुन्दरता दिए । सौन्दर्य, जिज्ञासा, आकर्षण र चातुर्यलगायतका गुण रहेका कारण उनलाई ‘पान्डोरा’ नाम दिइयो ।
जहाँ पान्डोराको अर्थ हुन्थ्यो ‘सबै उपहार प्राप्त गर्ने’ अथवा ‘सबैको लागि उपहार’ । त्यसपछि पान्डोरालाई देवता ज्युसले विशेष बक्स उपहार दिएर पृथ्वीमा पठाए । ज्युसले पान्डोरालाई पृथ्वीमा पठाउनुअघि उनलाई एउटा सुन्दर बक्स सुम्पिँदै भने, “यो तिमीलाई मेरो विशेष उपहार हो । यसलाई कहिल्यै नखोल्नु ।”
नगर्नु भनेको कुरा गर्नु मानवीय स्वभाव सुरुदेखिकै हो । त्यसैले ज्युसको आदेश अनुसार पान्डोराले प्रतिबद्धता कायम राख्न सकिनन् । उनलाई ज्युसले दिएको बक्सभित्र के होला भन्ने कौतूहल र जिज्ञासाले सताइरह्यो । उनले बक्सप्रति आफूभित्रको जिज्ञासा र कौतूहल थाम्न सकिनन् । अन्ततः उनले त्यो बक्स खोलेरै छाडिन् ।
पान्डोराले उक्त बक्स खोलपछि सारा पृथ्वीको स्वर्गीय जीवन सङ्कटमा पर्यो । त्यो सानो बक्सबाट ठूल्ठूला दुःख, कष्ट र पीडा बाहिर आए । सबैतिर रोग, भोक, हत्या, हिंसाका घटना हुन थाले । समग्र मानव समुदायका लागि ठूलो अनिष्ट पैदा भयो । यद्यपि बक्समा आशा पनि राखिएको थियो । पान्डोराले बक्स खोलेपछि आइलागेको अनिष्ट रोक्न एउटै आशा बाँकी रह्यो ।
पान्डोराको उद्देश्य मानवताविरोधी नभए पनि उनीभित्रको जिज्ञासाले ठूलो सङ्कट पैदा भएको थियो । कथामा बक्सको अन्तिम भागमा बाँकी रहेको आशा थियो । जब पान्डोराले बक्स बन्द गरिन् त्यसभित्र रहेको आशाले बाँकी मानिसलाई पीडाबीच बाँच्ने शक्ति प्रदान गर्यो । यसरी पान्डोरा बक्सलाई मानिसको जीवनमा आइपर्ने दुःख, पीडा र कष्टसँग जुझ्न आशालाई रक्षात्मक उपायका रूपमा पनि अथ्र्याइएको छ । मानव जीवनमा आशाको भूमिकालाई प्रमुखताका साथ दर्शाइएको छ । जीवनमा दुःख र चुनौती आइपर्दा पनि मानिसलाई आशाले अघि बढ्न प्रेरणा दिएको हुन्छ ।
पान्डोराको बक्सको कथा चासो र जिज्ञासाबारे एक चेतावनीका रूपमा पनि लिइन्छ । जिज्ञासालाई सकारात्मक रूपमा लिने गरिए पनि यस मिथक अनुसार कतिपय अवस्थामा त्यो विनाशकारी पनि बन्न पुग्छ । पान्डोराले बक्स खोल्नुको पछाडि विनाश निम्त्याउनु त थिएन तर त्यो बक्सभित्र के होला भन्ने उनीभित्रको कौतूहलले महासङ्कट निम्त्यायो ।
खासगरी पान्डोरा बक्सको कथाले दिने सबैभन्दा महìवपूर्ण शिक्षा भनेको अप्रत्यासित उपहारलाई सन्देहका रूपमा हेरिनु पर्छ भन्ने हो । यस कथामा पान्डोरालाई दिइएको उपहार दुःख, पीडा र कष्टले भरिपूर्ण थियो । जसलाई ज्युसले प्रमिथससँग रिसाएका कारण उनीहरूलाई सजाय दिने भित्री उद्देश्यबाट प्रेरित थियो । त्यस्तो उपहार पान्डोराले स्वीकारिन् र त्यसलाई नखोल्नुभन्दा पनि उनी खोल्न पुगिन् । त्यस्तो उपहारले ल्याएको परिणाम अन्ततः प्रलयकारी बन्नु पुग्यो । ज्युसको उद्देश्य त्यही थियो ।
पान्डोराको बक्स प्राचीन ग्रिक मिथक मात्र नभई यसलाई हाम्रो वर्तमान जीवनका महत्वपूर्ण नैतिक प्रश्नलाई उजागर गर्ने प्रतिकात्मक कथाका रूपमा लिन सकिन्छ । यसले उपहार केवल उपहार मात्र नभई त्यसबाट निस्कने परिणामलाई पनि हेर्नुपर्ने शिक्षा दिन्छ । पान्डोरा बक्स अप्रत्यासित उपहार स्वीकार्नुअघि सतर्कता अपनाउनु पर्छ भन्ने सचेतात्मक कथा हो ।
पान्डोरा बक्स कथाले मानिसका लागि आशा र चुनौतीको प्रतिकात्मक अर्थ दिन्छ । साथै अप्रत्यासित रूपमा प्राप्त हुने उपहारले निम्त्याउने सङ्कट बारे सचेत रहन ठूलो शिक्षा प्रदान गर्छ । राजनीति, कूटनीति आदि क्षेत्रमा पनि रूपक (मेटाफोर) का रूपमा पान्डोरा बक्सको उदाहरण दिइन्छ । कूटनीतिमा कुनै एक मुलुकले अर्को मुलुकलाई दिने उपहार र सन्देशलाई पनि पान्डोरा बक्सका रूपमा अथ्र्याइने गरिन्छ ।
विज्ञान, प्रविधिका क्षेत्रमा मानिसले नयाँ आविष्कार र खोज गर्दा यसको सम्भावित सकारात्मक र नकारात्मक परिणामबारे पूर्व सतर्कता अपनाउनुपर्ने हुन्छ । उदाहरणका लागि परमाणु खोजले संसारमा सस्तो ऊर्जा आपूर्ति सहज बनाएको छ तर बमका रूपमा प्रयोग गरेर त्यसले समग्र पृथ्वी र मानव अस्तित्वलाई नै सङ्कटमा पार्ने अवस्था सिर्जना भएको छ । वर्तमान समयमा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) को विकास भोलिका दिनमा मानिसका लागि वरदान हुन्छ या अभिशाप त्यसलाई पनि पान्डोरा बक्ससँग दाँजेर हेर्न सकिन्छ ।