• १० मंसिर २०८१, सोमबार

‘लम्पी स्किन’विरुद्ध खोप लगाउन सुरु

blog

‘लम्पी स्किन’ रोग नियन्त्रण तथा रोकथामका लागि मकवानपुरमा खोप लगाइँदै । तस्बिरः अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, साउन २५ गते ।
गाई भैंसीमा लाग्ने ‘लम्पी स्किन’ रोग नियन्त्रण तथा रोकथामका लागि  मकवानपुरमा खोप अभियान सुरु गरिएको छ । पशुपालन तथा दूध उत्पादनका क्षेत्रमा अब्बल मकवानपुरगढी गाउँपालिका वडा नं. ३ बाट शुक्रवार खोप अभियानको उद्घाटन गरिएको हो ।

बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले मकवानपुरगढीका सञ्जय नेपालको गाई फार्ममा खोप लगाएपछि खोप कार्ड हस्तान्तरण गर्दै अभियानको शुभारम्भ भएको घोषणा गर्नुभएको हो ।

साउन २५ देखि ३१ गतेसम्म बागमती प्रदेशका १३ जिल्लामा सञ्चालन हुने खोप अभियानको मकवानपुरबाट सुरुवात गर्दै मन्त्री श्रेष्ठले किसानको पशुधनको सुरक्षा गर्न मन्त्रालय सदैव सजग रहेकाले खोप तथा आवश्यक प्राविधिक सहयोग गर्न सधैँ तत्पर रहेको बताउनुभयो ।

उहाँले किसानका लागि आवश्यक भौतिक पूर्वाधार र जग्गा भाडामा लिएर खेती गर्ने किसानलाई समेत मन्त्रालयले प्रोत्साहन गर्ने बताउँदै सधैँ किसानको हितमा काम गर्ने स्पष्ट पार्नुभयो । उहाँले किसान काममा सधैँ व्यस्त हुने भएकाले स्थानीयतह र वडाहरुले मन्त्रालयमार्फत किसानका लागि उपलब्ध गराइने अनुदान तथा छुट्याइएको बजेट कार्यक्रमबारे समेत जानकारी गराइदिन आग्रह गर्नुभयो ।

पशु सेवा कार्यालय मकवानपुरको आयोजनामा भएको सप्ताहव्यापी खोप कार्यक्रमको पशुपन्छी मत्स्य विकास निर्देशनालका डा. गौरीमान श्रेष्ठले गाईलाई खोप लगाएर खोप अभियान थालनी गर्नुभएको थियो । गत वर्ष मकवानपुरमा पहिलोपटक मकवानपुरगढीमा लप्पी स्किन रोग देखापरेको र यो क्षेत्र बढी प्रभावित भएकाले यहाँबाट खोप अभियान सुरुवात गरिएको पशु सेवा कार्यालय मकवानपुरका प्रमुख डा.बज्रकिशोर ठाकुरले बताउनुभयो । उहाँका अनुसार मकवानपुरमा ६२ जना भ्याक्सिनेटरमार्फत १० वटै स्थानीय तहमा खोप अभियान सञ्चालन हुनेछ । यहाँ नौ हजार एक सय डोज खोप लगाइने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा मन्त्रालयका सचिव विनोदकुमार भट्टराई, मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान, मनकामना दुग्ध उत्पादक सहकारी अध्यक्ष अर्जुनप्रसाद दहाल लगायतकाले खोप अभियानले पशुधन सुरक्षा हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामका लागि प्रदेशका १३ वटै जिल्लामा शुक्रबारबाट सप्ताहव्यापी खोप अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत प्रदेशभरि ७६ हजार २७५ पशुलाई खोप लगाउने लक्ष्य राखिएको छ ।