• १० मंसिर २०८१, सोमबार

लोपोन्मुख घाटु नृत्य संरक्षण गरिँदै

blog

गुरुङ सामुदायिक होमस्टेमा घाटु नाच नाच्दै गुरुङ समुदायका किशोरीहरू । तस्बिर : कमल शर्मा

कमल शर्मा
सुर्खेत, साउन २५ गते ।
वीरेन्द्रनगर–१ सुर्खेतका गुरुङ समुदायले ऐतिहासिक परम्परागत घाटु नाच संरक्षणमा जुटेका छन् ।गुरुङ समुदायको प्रसिद्ध घाटु नाँच लोपहुँदै गएपछि यसको संरक्षणका लागि गुरुङ समुदायका अगुवाहरु जुट्न थालेका हुन् ।

पुरानो पुस्ता सकिँदै जाँदा लोप हुँदै गएकाले यसलाई जोगाउन पाका पुस्ताको अगुवाइमा घाटु नाच देखाउने र युवाहरूलाई सिकाउने गरेको वीरेन्द्रनगर –१ सुर्खेतका कृष्णबहादुर गुरुङले बताउनुभयो ।

उहाँले सदियौँ पुरानो सांस्कृतिक नाच भए पनि पछिल्लो पुस्ताको चासो नहुँदा यो नाच नै लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षण गर्न समुदायका अगुवाहरुनै लागेको बताउनुभयो ।

वीरेन्द्रनगर –१ देउती थानमा गुरुङ सामुदायिक होमस्टे स्थापना गरे सँगै घाटु नाचको समेत संरक्षण गर्न थालिएको अध्यक्ष गुरुङले बताउनुभयो । उहाँले होमस्टेमा आउने पाहुनाहरूको स्वागतमा समेत घाटु नाँच प्रदर्शन गर्ने गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हामीले युवाहरूलाई घाटु नाच सिकाई रहेको छौँ युवाहरूले नै घाटुनाँच प्रदर्शन गर्ने र पाहुनाहरूलाई स्वागत गर्ने गरेका छौँ ।’’

गुरुङ होमस्टेका सल्लाहकार पूर्णबहादुर गुरुङले गुरुङ समुदायको प्रसिद्ध घाटु नाच लोप हुने खतरा बढेपछि अन्य जिल्लाबाट प्रशिक्षक बोलाएर उक्त नाच सिकाइएको बताउनुभयो । उहाँले गण्डकी प्रदेश हुनै कर्णालीका विभिन्न जिल्लामा बसोबास गर्दै आएका गुरुङ समुदायले आफ्नो कला संस्कृति बिसिर्दै गएपछि सुर्खेतका विभिन्न स्थानमा रहेका गुरुङ समुदायलाई एकीकृत गरी उक्त नाच सिकाउने र प्रदर्शन गर्ने गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘घाटु नाच गुरुङ संस्कृतिअनुसार माघ महिनामा वसन्त पञ्चमीबाट सुरु भएको घाटु नाच वैशाख पूर्णिमा पछिको पञ्चमीमा समापन गर्ने चलन रहेको छ तर हाम्रोमा विशेष चाड पर्व र अहिले होमस्टेमा देखाउने गरेका छौँ ।’’

बदलिँदो अवस्थाअनुसार नयाँ पुस्तामा संस्कृतिप्रति कम चासो भएकाले घाटु पनि लोप हुने अवस्थामा पुगेपछि एक पुस्ताबाट अर्को पुस्तामा आफ्नो संस्कार र संस्कृति यसै गरी हस्तान्तरण गर्दै जाने लक्ष्य रहेको उहाँको भनाइ छ ।

गुरुङ समुदायकी अगुवा हेमा गुरुङले गुरुङ समुदायका महत्त्वपूर्ण संस्कृति कौडा, सोरठी, घाटु नाचको संरक्षणका लागि कुनै पनि निकायबाट सहयोग नभएको बताउनुभयो । उहाँले समुदायका सदस्यहरूको सहयोगमा समुदायका युवा युवतीलाई घाटु नाच मात्र सिकाइएको बताउनुभयो ।

पूर्व लाहुरेको घाटुनाँच मोह
गुरुङ समुदायको घाटुनाँच सरंक्षणका लागि नेपाली सेना तथा भारतीय सेनाबाट अवकाश भइसक्नुभएका पूर्व लाहुरेहरूले उक्त नाचका लागि विशेष पहल गर्नुभएको छ । भारतीय सेनाका हनेरी सुबेदार मेजर कृष्णबहादुर गुरुङले भारतीय सेना तथा नेपाली सेनाबाट अवकाश भइसक्नुभएका लाहुरेहरूले समुदायको संस्कृति संरक्षणमा जोड दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हाम्रो परम्परागत ऐतिहासिक घाटु नाच र कौडा, सोरठी नाचका लागी रकमहरू जम्मा गरेर युवापुस्तालाई सिकाएको बताउनुभयो । नेपाली सेनाको मेजरबाट अवकाश प्राप्त हुनुभएका प्रेमबहादुर गुरुङले गुरुङ समुदाय मात्र नभएर आम नागरिकले यस्ता ऐतिहासिक कला संस्कृतिको संरक्षणका लागि आवश्यक पहल गरिनुपर्ने बताउनुभयो ।’’

उहाँले यो हाम्रो संस्कृति हो तर सबैले चाहेको खण्डमा यसलाई सिकेर पुस्तान्तरण गर्न सकिने बताउनुभयो । घाटु नृत्यको गीतमा मानिसको जीवनशैली, जन्म, कर्म, सिकार, खेतीपातीबारे व्याख्या तथा अभिनय गरिने गुरुङको भनाइ छ ।

मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक एवम् इन्टरनल कल्चर विषयका शिक्षक भानु अधिकारीले गुरुङ समुदायको मौलिक संस्कृति घाटु नाचको संरक्षणका लागि सबैको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले गुरुङ समुदाय विशेष गरी गण्डक क्षेत्रबाट पश्चिममा आएको विभिन्न स्थानमा बसेका कारण आफ्नो संस्कृति प्रदर्शन गर्न नपाइरहेको बेला वीरेन्द्रनगर –१ सुर्खेतमा रहेका २५ घरधुरीले उक्त अभियान सञ्चालन गर्नु निकै सहनीय काम भएको बताउनुभयो । घाटु नाच संरक्षणमा ध्यान दिने हो भने भावी पुस्ताले पनि घाटुको अनुभव गर्न पाउने उहाँको भनाइ छ ।