• २२ साउन २०८१, मङ्गलबार

वेस्ट बैङ्कमा आठ जनाको मृत्यु

blog

फाइल तस्बिर

जेनिन (प्यालेस्टिनी अधीनस्थ क्षेत्र), साउन २२ गते । इजरायली सेनाले उत्तरी वेस्ट बैङ्कमा मङ्गलबार गरेको दुई वटा छुट्टैछुट्टै आक्रमणमा आठ जनाको मृत्यु भएको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् । इजरायली सेनाको आक्रमणमा जेनिन क्षेत्रमा चार र टुबास जिल्लामा चार गरी आठ जनाको मृत्यु भएको प्यालेस्टिनी रेड क्रिसेन्ट र रमल्लाहको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाले विमानमार्फत जेनिन क्षेत्रमा प्रहार गरेको रिपोर्ट गरेको छ । यद्यपि हताहतको भने कुनै विवरण दिएको छैन । अकाबाका बासिन्दाहरूले इजरायली सेनाले बिहानै अमिद घानामको घरलाई घेरेपछि सेना र प्यालेस्टिनी युवाहरूबिच झडप भएको बताएका छन् । झडपमा घानाम र अन्य दुई जनाको मृत्यु भएको र अर्का किशोरको अस्पताल लैजाने क्रममा मृत्यु भएको तुबासका गभर्नर अहमद असदले बताउनुभयो ।  

सेनाले अस्पताल क्षेत्रमा प्रवेश गर्दै गर्दा एक किशोरलाई गोली हानेको असदले बताउनुभयो । अकाबाका मेयर अब्देल रज्जाक अबु अर्राले एक किशोरलाई आक्रमणमा मारिएको उल्लेख गर्दै यस्तो सुनियोजित अपराध इजरायलीहरूले दैनिक गर्ने गरेको बताउनुभयो । गाजामा इजरायल र हमासबिच युद्ध सुरु भएदेखि वेस्ट बैङ्कमा तनाव बढेको छ । वेस्ट बैङ्कमाथि इजरायलले सन् १९६७ मा कब्जा गरेको हो । रासस/एएफपी