• २२ साउन २०८१, मङ्गलबार

व्यथित काव्य सम्मान लोहनी र उप्रेतीलाई

blog

काठमाडौँ, साउन २२ गते । साहित्यिक पत्रकार सङ्घले कवि मणि लोहनीलाई ‘व्यथित काव्य सम्मान– २०८१’ प्रदान गरिने भएको छ । यसैगरी सङ्घले ‘व्यथित काव्य डायस्पोरा सम्मान– २०८१’कवि सुरेन उप्रेती (क्यानडा) लाई प्रदान गरिने भएको छ ।

साहित्यकार श्रीओम श्रेष्ठ रोदनको संयोजनमा साहित्यकारहरू पद्मावती सिंह र पारस प्रकाश नेपाल सदस्य रहेको सिफारिस समितिले गरेको सिफारिस अनुसार संस्थाका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले यो निर्णय गरेको हो ।

युवा पुस्ताका चर्चित कवि/कथाकार लोहनी पेसाले टेलिभिजन पत्रकार हुनुहुन्छ । मानिसका प्रेम र सम्बन्धमाथि कविता÷कथा लेख्ने उहाँ पछिल्लो समय मृत्यु र त्यसपछिको महाशून्यतामाथि आफ्नो लेखनलाई केन्द्रित गर्नुभएको छ ।

युवा वर्ष मोती पुरस्कार, राष्ट्रिय कलाश्री युवा पुरस्कार, सर्वोकृष्ट कथालगायत एक दर्जन पुरस्कार र सम्मानबाट सम्मानित मणिका कथा र निबन्ध विद्यालय स्तरमा पढाई हुन्छ । उहाँका कथा कविता एक दर्जनभन्दा बढी विभिन्न विदेशी भाषामा अनुवाद भएका छन् ।

कवि लोहनीका आन्दोलनले छट्पटाएका कलमहरू, मलामी साँझ, मृत्युको अघिल्तिर र यतैकतै (संयुक्त) कविता कृतिहरू सहित असहमतिका पाइलाहरू, परास्त प्रेम, निर्वस्त्र मन कथाकृतिहरु प्रकाशित छन् ।

यसैगरी, ‘व्यथित काव्य डायस्पोरा सम्मान’बाट कवि उप्रेतीको आजका स्वरहरू कविता सङ्ग्रह २०५३ प्रकाशित छ  ।

वि.स. २०३९ मा स्थापना गरिएको व्यथित काव्य पुरस्कार नेपाली साहित्य जगतका प्रतिभाशाली कविलाई साहित्यिक पत्रकार सङ्घबाट प्रदान गर्ने गरिन्छ । यस पुरस्कारबाट यसअघि कविहरू दिनेश अधिकारी, मेघराज मन्जुल, उषा शेरचन, तोया गुरुङ, प्रमोद प्रधान, पूर्ण विराम, विजय बजिमय, मन्जु काँचुली, नरेन्द्रबहादुर श्रेष्ठ, कुन्ता शर्मा, बुँद राना, विश्वविमोहन श्रेष्ठ, कृष्ण बाउसे, दुबसु क्षेत्री, महेश प्रसाईँ, मोहन दुवाल, कृष्ण जोशी, डा. राममान तृषित, विमल निभा, श्रवण मुकारुङ लगायत सम्मानित भइसक्नुभएको छ ।