• २२ साउन २०८१, मङ्गलबार

बङ्गलादेशका राष्ट्रपतिद्वारा संसद् विघटन

blog

ढाका, साउन २२ गते । बङ्गलादेशका राष्ट्रपति मोहम्मद साहाबुद्दिनले विद्यार्थी आन्दोलनको प्रमुख मागलाई सम्बोधन गर्दै मङ्गलबार संसद् विगठन गर्नुभएको छ ।

“राष्ट्रपतिले संसद् विघटन गर्नुभएको छ”,  राष्ट्रपति मोहम्मद साहाबुद्दिनका प्रेस सचिव सिप्लु जमानले बताउनुभयो ।

बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरु गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजीनामा दिन बाध्य बनाएको हो ।

बङ्गलादेशमा आएको राजनैतिक परिवर्तनपछि सोमबार राति नै राष्ट्रपति मोहम्मद साहाबुद्दिनले सेना प्रमुख वाकर–उज–जमानलाई अन्तरिम सरकार गठन गर्न स्वीकृति प्रदान गर्नुभएको हो ।

प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि विद्यार्थी आन्दोलनका नेताहरूले बङ्गलादेशको वर्तमान राजनैतिक अवस्थालाई सम्बोधन गर्न नोबेल पुरस्कार विजेता डा मुहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको ढाका ट्रिब्यूनले जनाएको छ । रासस/एएफपी