• २२ साउन २०८१, मङ्गलबार

चेस ओलम्पियाड टोलीलाई बन्द प्रशिक्षणमा राखिने

blog

प्रशिक्षक अजिब क्याक्ट काजिलेभलाई स्वागत गर्दै नेपाल बुद्धिचालम महासङ्घका पदाधिकारी ।

काठमाडौँ, साउन २२ गते । नेपाल बुद्धिचाल महासङ्घले आगामी सेप्टेम्बर ९ देखि २३ तारिखसम्म हंगेरीमा आयोजना हुने ४५औँ चेस ओलम्पियाडमा सहभागिता जनाउने नेपाली खेलाडीलाई बुधबारदेखि बन्द प्रशिक्षण गराउने भएको छ ।

नेपाली टोलीलाई प्रशिक्षण दिन काजकिस्तानका ग्राण्ड मास्टर (जिएम) अजिब क्याक्ट काजिलेभ मङ्गलबार काठमाडौँ आइपुग्नुभएको छ ।  २७ सय रेटिङ्ग नघाउनुभएका सुपर जिएम अजिब क्याक्ट काजिलेभलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महासङ्घका पदाधिकारीले स्वागत गर्नुभएको थियो । 

विश्वका एक सय ९१ राष्ट्रहरूको सहभागिता रहने चेस ओलम्पियाडमा नेपाली पुरुष टोलीले समूह ‘डी’ मा रहेर प्रतिस्पर्धा गर्नेछ । नेपालबाट राजन सुवेदी, सुश्रुत दाहाल, क्षितिज भण्डारी र रुपेश जैशवाल तथा खुलामा विवेक थिङले प्रतिस्पर्धा गर्नुहुनेछ ।

यस्तै महिलामा  सिन्दिरा जोशी ,कृतिसारा अधिकारी, पूजा भण्डारी, शान्ति धिमाल र  रिया श्रेष्ठले प्रतिस्पर्धा गर्नुहुनेछ । ओलम्पियाडमा छनोट भएका यी खेलाडीलाई साउन २३ देखि भदौ ५ गतेसम्म बन्द प्रशिक्षणमा राखिने र त्यसपछि थप १५ दिन अनलाइन प्रशिक्षणको व्यवस्था गरिने महासङ्घले जनाएको छ । 

ओलम्पियाड टोलीमा पुरुषतर्फको व्यवस्थापक महासङ्घका कोषाध्यक्ष ताराबहादुर रानाभाट र महिलातर्फ सदस्य राजु ताम्राकार रहनुभएको छ । प्रशिक्षकको रूपमा अजिब क्याक्ट काजिलेभ पनि हंगेरी जानुहुनेछ । 

यस्तै विश्व बुद्धिचाल महासङ्घको निमन्त्रणामा चिफ डेलिगेटको रूपमा महासङ्घका अध्यक्ष हेराकाजी महर्जन र फिडे डेलिगेटका रूपमा महासचिव धरमबहादुर लामा हंगेरी जाने महासङ्घले जनाएको छ ।