• २२ साउन २०८१, मङ्गलबार

पहिरोले घर बगाउँदा पाँच जनाको मृत्यु

blog

फाइल तस्बिर

साधन घर्ती 

म्याग्दी (दरबाङ), साउन २२ गते । बागलुङको बडिगाड गाउँपालिका–१०, स्थित आरुपाटामा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ । घटनास्थलमा उद्धारमा खटिनुभएका वडा अध्यक्ष वीरेन्द्रकुमार बुढा मगरका अनुसार मङ्गलबार बिहान बस्ती माथिबाट खसेको पहिरोले बस्ती छोपेपछि ठुलो क्षति भएको हो । उहाँका अनुसार पहिरोले दुई घर बगाउँदा पाँच जनाको ज्यान गएको हो । 

‘‘माथिबाट आएको पहिरोले स्थानीय बालिश्वर बुढाका दुई वटा घर बगाएको छ । अहिले घटनास्थलमा पाँच जनाको शव फेला परेको छ । अन्य केही घाइते अवस्थामा भेटिनुभएको छ भने केही बेपत्ताको खोजी भइरहेको छ’’, वडाध्यक्ष बुढा मगरले भन्नुभयो ।

मृतक, घाइते र बेपत्ता भएकाको परिचय खुल्न सकेको छैन । घरमा कति जना मान्छे थिए भन्ने विवरण खुल्न नसकेको वडा अध्यक्ष बुढा मगरको भनाइ छ । आरुपाटा बागलुङको विकट गाउँ हो । 

गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीका अनुसार गाउँपालिका उपाध्यक्ष भीमसेन वनको नेतृत्वमा जनप्रतिनिधि, नगर प्रहरी, नेपाल प्रहरी लगायतको टोली राहत सामग्री लिएर घटनास्थलतर्फ गएको छ । 

यसैगरी, वडा नम्बर ९ स्थित दर्लिङमा  पहिरोले १५ वर्षीय विधान परियारको ज्यान गएको छ । घरमा पानी पसेपछि पानी छेक्न जाँदा पहिरोमा पुरिएर परियारको मृत्यु भएको  गाउँपालिका अध्यक्ष गण्डकीले बताउनुभयो । त्यसैगरी सोही ठाउँमा बाढीसहित आएको पहिरोले बगाउँदा गङ्गाबहादुर बस्नेतको मृत्यु  गएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले घटनास्थलमा पुग्न अझै केही समय लाग्ने जानकारी दिनुभयो ।