• ११ मंसिर २०८१, मङ्गलबार

विश्व बैंकद्वारा ‘मध्यम आयको जाल’ बाट बच्न मार्गचित्र प्रस्तुत

blog

वासिङ्टन,  साउन  १७ गते । विश्व बैंकले चीनलगायत एक सयभन्दा धेरै मुलुक ‘मध्यम आयको जाल’ मा प्रवेश गर्ने र धनी मुलुक बन्न असफल हुने जोखिममा रहेको बताएको छ । बिहीबार उच्च आयको अवस्थामा पुग्नका लागि ‘व्यापक मार्गचित्र’ अनावरण गर्दै बैङ्कले सो कुरा बताएको हो । 

आफ्नो २०२४ विश्व विकास प्रतिवेदनमा बैंकले भनेको छ, “सामान्यतया देशहरू यस्तो ‘जाल’ मा पर्छन जतिबेला उनीहरू प्रतिव्यक्ति वार्षिक अमेरिकी कूल गार्हस्थ्य उत्पादन ९जिडिपी० को करिब १० प्रतिशत अर्थात करिब आठ हजार डलरसम्म पुग्नेछन् । यसलाई अगाडि बढाउन कठिन साबित हुनसक्छ ।”

बैंकले विश्वको ७५ प्रतिशतभन्दा धेरै जनसङ्ख्याको प्रतिनिधित्व गर्ने एक सयभन्दा धेरै मुलुक हाल मध्यम आयका रूपमा वर्गीकृत भएकाले यो समस्यालाई सम्बोधन गर्न आगामी दशकहरूमा आर्थिक विकासका लागि महत्त्वपूर्ण साबित हुने बताएको छ । 

“विश्वव्यापी आर्थिक समृद्धिको लडाइँ मध्यम आय भएका मुलुकहरूमा धेरै हदसम्म जितिने छ वा हारिने छ”, ‘नयाँ दृष्टिकोण’ को आह्वान गर्दै विश्व बैंक समूहका प्रमुख अर्थशास्त्री इन्दरमिट गिलले विज्ञप्तिमा भन्नुभयो, “पहिला लगानीमा ध्यान केन्द्रीत गर्नुहोस्, त्यसपछि विदेशहरूबाट नयाँ प्रविधिहरू इन्फ्युजनमा जोड दिनुहोस् र अन्त्यमा लगानी, इन्फ्युजन र नवीनतालाई सन्तुलन गर्ने तीन–स्तरीय रणनीति अपनाउनुहोस् ।”

उहाँले बढ्दो जनसाङ्ख्यिकीय, पारिस्थितिक र भू–राजनीतिक दबाबका साथ त्रुटिका लागि कुनै स्थान नभएको बताउनुभयो । 

बैंकले दक्षिण कोरियालाई पूर्वविकासोन्मुख मुलुकको उदाहरणका रूपमा उल्लेख गरेको छ । दक्षिण कोरियाले सफलतापूर्वक उच्च आयको स्थितिमा पुग्नका लागि उक्त रणनीति प्रयोग गरेको थियो । 

“यदि तिनीहरू पुरानो रणनीतिमा कायम रहेभने अधिकांश विकासोन्मुख मुलुक यो शताब्दीको मध्यसम्म धेरै हदसम्म समृद्ध समाज बनाउने दौडमा पराजित हुनेछन्”, गिलले विश्व विकास प्रतिवेदनमा भन्नुभएको छ, “यो प्रतिवेदन लेख्ने टोलीले यो अङ्कगणितलाई आमूल परिवर्तन गर्ने आशा राखेको छ ।” रासस, एएफपी