• १९ साउन २०८१, शनिबार

जनकपुरधाम-अयोध्या रेल सेवा चाँडै सञ्चालन हुने

blog

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झा

काठमाडौँ, साउन १७ गते । जनकपुरधाम-अयोध्या रेल सेवा चाँडै सञ्चालन हुने भएको छ । नेपालको भौतिक मन्त्रालय तथा नेपाल रेल्वे कम्पनीले जनकपुरधामदेखि भारतको अयोध्यासम्म रेल सञ्चालनको तयारी अन्तिम चरणमा रहेको जनाएको हो ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले सेवा सञ्चालनका लागि समय तालिका सार्वजनिक गरिएको र अब चाँडै कार्यान्वयनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।

उहाँले २०८० पुस १ गते भौतिक मन्त्रालयमार्फत जनकपुरधामबाट अयोध्या हुँदै दिल्लीसम्मका लागि रेल सेवा सञ्चालनमा ल्याउने तयारी गरिए पनि पहिलो चरणमा अयोध्यासम्म मात्रै सञ्चालनमा आउने बताउनुभयो ।

महाप्रबन्धक झाकाअनुसार पहिलो चरणमा अयोध्यासम्म मात्रै रेल सञ्चालनमा ल्याउने तयारी गरिए पनि दिल्लीसम्म रेल सेवा सञ्चालन गर्नका लागि पहल जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले सप्ताहको एक दिन अयोध्यासम्म जनकपुरधामबाट रेल गुड्ने तयारी स्वरूप समय तालिका समेत सार्वजनिक गरिसकेको बताउनुभयो । रेल सेवा प्रत्येक शनिबार दिनको १ः३० बजे जनकपरधामबाट खुल्ने र ४ बजे बिहान अयोध्या पुग्ने तथा सोही रेल साँझ ५ बजे अयोध्याबाट फर्किएर अर्को बिहान जनकपुरधाम पुग्नेगरी तालिका सार्वजनिक गरिएको उहाँले जानकारी दिनुभयो ।

महाप्रबन्धक झाले भन्नुभयो, ‘‘जनकपुरधाम–अयोध्या रेल सञ्चालनका लागि समय तालिका सार्वजनिक गरेका छौँ, अब सोहीअनुसार छिट्टै सेवा सुरु गर्ने तयारीमा छौँ । उद्घाटनको समय तालिका मिलाउन लागिएको छ, समय मिल्नासाथ औपचारिक घोषणा गर्नेछौँ ।’’

उहाँले भंगहादेखि बर्दिबाससम्मको रेल्वे लिक निर्माणको कार्य चाँडै सुरु गर्ने बताउनुभयो ।  मुआब्जा वितरणको काम ८५ प्रतिशतसम्म सम्पन्न भइसकेको र बाँकी १५ प्रतिशतमा विवादहरू रहेकाले सोको समाधानका लागि पहल भइरहेको बताउनुभयो ।

महाप्रबन्धक झाले मन्त्रालयबाटै त्यो विवाद समाधान गर्ने पहल भइरहेकाले चाँडै नै विवाद समाधान गरेर कात्तिक महिनादेखि निर्माण कार्य अगाडि बढाइने सम्भावना रहेको बताउनुभयो । त्यस्तै कार्गो रेल सेवा सञ्चालनका लागि भारत सरकारसँग समन्वय भइरहेको जानकारी दिनुभयो ।