काठमाडौँ, साउन १७ गते । नेपालले काभा महिला नेसन्स भलिबल लिगमा विजयी सुरुवात गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार देखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले श्रीलङ्कालाई ३–० को सोझो सेटमा हरायो ।
श्रीलङ्कामाथि सहज जित निकाल्ने क्रममा नेपालले २५–१९, २५–१८, २५–१९ को जित निकालेको थियो । पहिलो जितसँगै नेपालले तीन अङ्क बनाएको छ । प्रतियोगितामा आयोजक नेपालसहित भारत, इरान, श्रीलङ्का र मालदिभ्स गरी पाँच देशको सहभागिता रहेको छ ।
नेपालले दोस्रो खेल साउन १८ गते भारत, तेस्रो खेल साउन १९ गते इरानसँग र लिग चरणको अन्तिम खेल साउन २० गते माल्दिभ्ससँग खेल्नेछ । साउन २३ गतेसम्म चल्ने प्रतियोगितामा लिग चरणपछि शीर्ष चारमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
नेपाल भलिबल सङ्घले पहिलो पटक काभा महिला नेसन्स लिग आयोजना गरेको हो । नेपाल यस प्रतियोगिताको साबिक विजेता हो । नेपालले महिलातर्फ सन् २०२३ को उपाधि जितेको थियो ।
यसैबिच मिडल ब्लकर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले श्रीलङ्कबिरुद्ध खेल्दै नेपाली महिला राष्ट्रिय भलिबल टोलीबाट डेब्यू गर्नुभएको छ ।