• १८ साउन २०८१, शुक्रबार

ग्लोबल टी–२० लिग : सन्दीप र दीपेन्द्रको टोली पराजित

blog

काठमाडौँ, साउन १७ गते । क्यानाडामा जारी ग्लोबल टी–२० लिग क्रिकेटमा नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आबद्ध भ्यानकुभर नाइट्सले लगातार चौथो हार खेपेको छ । 

भ्यानकुभर सिएए सेन्टमामा बिहीबार भएको खेलमा भ्यानकुभर ब्राम्पटन वुल्भ्ससँग ६ विकेटले पराजित भयो । यसअघि भ्यानकुभरले नेसनलसँग आठ विकेट, बङ्गला टाइगर्ससँग २२ र मोन्ट्रियल टाइगर्ससँग १० रनको पराजय भोगेको थियो । 

जितका लागि भ्यानकुभरले प्रस्तुत गरेको एक सय ५० रनको लक्ष्य ब्राम्पटनले १८.१ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो । ब्राम्पटनका लागि ब्यु वेभस्टरले  अविजित ४९ रन बनाउनुभयो । यस्तै निक होब्सनले अविजित ३७, कप्तान डेभिड वार्नरले २५ र जर्ज मुन्सेले २० रन जोड्नुभयो । 

बलिङमा भ्यानकुभरका लागि ड्वेन प्रिटोरियस, ऋषिभ जोशी र सन्दीप लामिछानेले एक विकेट लिनुभयो । यस्तै दीपेन्द्रसिंह ऐरी चार ओभरमा १८ रन खर्चिए पनि  विकेट लिन सक्नुभएन । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भ्यानकुभरले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ४९ रन बनाएको थियो । भ्यानकुभरका लागि रिची बेरिङ्टनले सर्वाधिक अविजित ३८ रन बनाउनुभयो । यस्तै आसिफ अलीले अविजित ३६, रिजा हेन्ड्रिक्सले २७, मुनिर अहमदले २१ र कप्तान उस्मान ख्वाजाले १७ रन बनाउनुभयो ।

बलिङमा ब्राम्पटनका थोमस डार्काले दुई तथा ब्यु वेभस्टर र एन्ड्रयु टाइले एक विकेट लिनुभयो । जितसँगै ब्राम्पटनले चार खेलबाट चार अङ्क बनाएको छ । भ्यानकुभर समान खेलबाट अङ्कविहीन छ ।