अविनाश चौधरी
धनगढी, साउन १७ गते। कैलालीको धनगढी उपमहानगरपालिकाले छिमेकी पालिकाहरूलाई पनि शव चिस्यान सेवा दिने भएको छ।
धनगढी नगरवासीलाई गत मङ्सिरबाट सेवा दिँदै आएको सो पालिकाले माग भएपछि छिमेकी पालिकालाई पनि शव चिस्यान सेवा दिने निर्णय गरेको हो। त्यसका लागि धनगढी उपमहानगरपालिकाले आज थप दुई वटा शव चिस्यान यन्त्र खरिद गरेको छ।
यसअघि, धनगढीले तीन वटा शव चिस्यान यन्त्र खरिद गरेर नगरवासीलाई सेवा दिँदै आएको थियो। अब धनगढीसँग सिमाना जोडिएका कैलालीको गोदावरी, गौरीगङ्गा नगरपालिका, कैलारी गाउँपालिका र कञ्चनपुरको कृष्णपुर तथा पुनर्वास नगरपालिकालाई पनि सो सेवा दिने नगर प्रमुख गोपाल हमालले बताउनुभयो।
छोराछोरी वा अन्य आफन्त विदेश भएका व्यक्तिको मृत्यु भएमा विदेश भएकाहरू नफर्कुञ्जेलसम्मका लागि शव सुरक्षित राख्न शव चिस्यानको प्रयोग भइरहेको छ। शव चिस्यान यन्त्रको माग भएपछि नगर प्रहरीले मृतकको घरसम्मै पुर्याउने गरेको छ। मृतकको अन्तिम संस्कारका लागि शव बाहिर निकालेपछि शव चिस्यान यन्त्र पुनः उपमहानगरपालिकालाई बुझाउने गरिएको छ। शव चिस्यान यन्त्रको माग बढेकाले छिमेकी पालिकालाईसमेत यो सेवा उपलब्ध गराउनका लागि थप यन्त्र खरिद गरेको उपप्रमुख कन्दकला रानाले बताउनुभयो।