• १० साउन २०८१, बिहिबार

फेरि झस्किए पोखरेली

blog

रमेश पौडेल

पोखरा, साउन १० गते । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलायन्सको जहाज बुधबार बिहान ११ः११ बजे रनवे छाड्नासाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको परिसरमा नै दुर्घटना भयो । २०७९ माघ १ गते पोखराको सेतीमा भएको भयानक दुर्घटना भुल्न नसकेका पोखरेली यस दुर्घटनामा पनि पोखराको नाम सुन्नासाथ फेरि झसङ्ग भए । काठमाडौँमा बढ्दो एयर ट्राफिकका कारण ह्याङ्गरको पर्याप्त सुविधा पाउन नसक्दा भर्खरै निर्माण सम्पन्न भएको पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्रभित्र रहेको ह्याङ्गरमा मर्मतका लागि आउन सो जहाज उडेको थियो । 

विमानस्थलका प्रवक्ता जशोदा सुवेदीका अनुसार पोखराको ह्याङ्गर प्राविधिक र अन्य सुविधा सम्पन्न रहेकाले प्राधिकरणले तोकेको शुुल्क तिरेर जहाज नियमित सर्भिसिङका लागि आउने गर्छन् । त्यस्ता सबै सुविधा प्राधिकरणले नै उपलब्ध गराउँछ । सो ह्याङ्गरमा दुई वटासम्म जहाज एकैचोटि राख्न र मर्मत गर्न सकिन्छ । जहाज खुला ठाउँमा मर्मत गर्न नमिल्ने हुँदा पनि ह्याङ्गर नै आवश्यक पर्दछ । जहाज मर्मत गर्ने नियमित प्रव्रिmया हो । दुर्घटना के कारणले भयो हामीलाई थाहा छैन, प्रवक्ता सुवेदीको भनाइ थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेपछि अन्तर्राष्ट्रियस्तरका व्यावसायिक उडान हुन नसके पनि अन्तरिक उडानमा भने सहज भएको छ । यात्रुले पृथ्वी राजमार्गको स्तरोन्नति हुँदै गर्दा सडक मार्गको यात्रा केही कठिन र समय लाग्ने भएकाले पनि हवाई यात्रा रोज्ने गरेका छन् तर पटक पटकका दुर्घटनाले हवाई यात्रा पनि सुरक्षित नहुने महसुस पोखरेलीले गर्न थालेका छन् ।  

जहाज दुर्घटना भएपछि पोखरेली पर्यटन व्यवसायीले दुःख व्यक्त गरेका छन् । अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पर्यटन उड्डयनको क्षेत्रमा ठुलो जनशक्ति गुमाउनुको पीडा मात्र नभई नेपाली आकाश सुरक्षित छैन भन्नेमा थप बल पुगेको बताउनुभयो । नेपाली जहाजलाई युरोपेली सङ्घका आकाशमा उडान अनुमति नदिइरहेको अवस्थामा यस्ता दुर्घटनाले नेपालको उड्डयन क्षेत्र झनै जटिलतातर्फ गइरहेको उहाँले बताउनुभयो । 

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष सोम थापाले पनि सडक यातायात जोखिम बन्दै जाँदा हवाई यातायात सुरक्षित मानिए पनि सुरक्षित भएको अनुभूति हुन नसक्दा समग्र पर्यटन व्यवसाय नै धरापमा पर्ने बताउनुभयो । यसका लागि नागरिक उड्डयन मात्र नभई राज्य नै गम्भीर र सक्रिय हुनुपर्ने थापाले बताउनुभयो ।