• ९ साउन २०८१, बुधबार

सौर्य एयरलाइन्स दुर्घटनाले गरायो पोखरालाई पुनः कालो दिनको स्मरण

blog

पोखरा अन्तराष्ट्रिय विमानस्थल र ह्याङगरसहित पोखराको निर्मलपोखरीबाट खिचिएको तस्बिर । तस्बिर : रमेश पौडेल

रमेश पौडेल

पोखरा, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज आज बिहान ११:११ बजे रनवे छाड्नासाथ दुर्घटना हुन पुग्यो । 

एकाएक दुर्घटनासँगै पोखराको नाम सुन्नासाथ पोखरेलीहरू झसङ्ग भए । साल २०७९ माघ १ गते पोखराको सेतीमा भएको भयानक दुर्घटना कसैले भुल्न सकेका छैनन् । आज भएको दुर्घटनाले पुनः सो कालो दिनको स्मरण गराएको छ ।

काठमाडौँमा बढ्दो ट्राफिक एयरलाइन्सका कारणले ह्याङ्गरको पर्याप्त सुविधा पाउन नसक्दा भर्खरै निर्माण सम्पन्न भएको पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्रभित्र रहेको ह्याङ्गरमा सो जहाज आउनका लागि उडेको थियो । 

विमानस्थलका प्रवक्ता जशोदा सुवेदीकाअनुसार जहाज नियमित सर्भिसिङ्का लागि पोखराको ह्याङ्गर राम्रो रहेकाले प्राधिकरणले तोकेको शुल्क तिरेर आउने गर्दछन् । सो ह्याङ्गरमा पानी, बत्ती लिएर प्राविधिकलाई आवश्यक पर्ने सबै सुविधा भएकाले प्राधिकरणले उपलब्ध गराउँछ । सो ह्याङ्गरमा दुईवटा जहाजसम्म एकैचोटी राख्न र मर्मत गर्न सकिन्छ । 

जहाज खुल्ला ठाउँमा  मर्मत गर्न नमिल्ने हुँदा पनि ह्याङ्गर नै आवश्यक पर्दछ । जहाज मर्मत गर्ने नियमित प्रक्रिया हो । दुर्घटना के कारण भयो हामीलाई थाहा छैन, प्रवक्ता सुवेदीको भनाइ थियो । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेपछि अन्तराष्ट्रियस्तरका व्यावसायिक उडान हुन नसके पनि आन्तरिक उडानमा भने सहज भइरहेको छ । यात्रुहरूले पृथ्वी राजमार्गको स्तरोन्नति हुँदै गर्दा सडक मार्गको यात्रा केही कठिन र समय लाग्ने भएकाले पनि हवाई यात्रा रोज्ने गरेका छन् । तर पटकपटकको दुर्घटनाले हवाई यात्रा पनि सुरक्षित नहुने महसुस पोखे्रलीले गर्न थालेका छन् ।  

यता जहाज दुर्घटना भएपछि पोखरेली पर्यटन व्यवसायीले दुख व्यक्त गरेका छन् । अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पर्यटन उड्डयनको क्षेत्रमा ठुलो जनशक्ति गुमाउनुको पीडा मात्र नभई नेपाली आकाश सुरक्षित छैन भन्नेमा थप बल पुगेको बताउनुभयो । नेपाली जहाजहरूलाई युरोपियन मुलुकमा अनुमति नदिइरहेको अवस्थामा यस्ता दुर्घटनाले नेपालको उड्डयन क्षेत्र झनै जटिलतातर्फ गइरहेको उहाँले बताउनुभयो । 

नागरिक उड्डयन प्राधिकरणले गम्भीरताका साथ यस्ता घटनाबाट पाठ सिकी भविष्यमा जिम्मेवारीपूर्वक कार्य निर्वाह गर्नुपर्ने पर्यटन व्यवसायी भट्टराईको भनाइ थियो । पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोम थापाले पनि सडक यातायात जोखिम बन्दै जाँदा हवाई यातायात सुरक्षित मानिए तापनि सुरक्षित भएको अनुभूति हुन नसक्दा समग्र पर्यटन व्यवसाय नै धरापमा पर्ने बताउनुभयो । यसका लागि नागरिक उड्डयन  मात्र  नभई राज्य नै गम्भीर र सक्रिय हुनुपर्ने थापाले बताउनुभयो ।

उड्नेबित्तिकै दुर्घटना हुँदा सौर्य एयरलाइन्सको जहाजमा सवार १८ जनाको मृत्यु भएको छ । मृतक प्राय सबैजना सौर्य एयरलाइन्सका कर्मचारी हुन् । सो दुर्घटनामा घाइते भएका पाइलट मनीष शाक्यको भने मेरुदण्डको अपरेसन गरिएको छ ।

बुधबार काठमाडौँबाट पोखरातर्फ उडेको सौर्य एयरको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । पाइलट शाक्यको भने घाइते अवस्थामा उद्धार गरिएको थियो ।