• ९ साउन २०८१, बुधबार

विमान दुर्घटनाप्रति रास्वपाद्वारा शोक व्यक्त

blog

काठमाडौँ, साउन ९ गते । सौर्य एयरको विमान दुर्घटनामा १८ जनाको निधन भएकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शोक व्यक्त गरेको छ । रास्वपाले शोक विज्ञप्ति जारी गर्दै उक्त दुर्घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना अर्पण गरेको हो ।   

“दुर्घटनाको प्रभावकारी छानबिन गरी आउने तथ्यका आधारमा हवाई सुरक्षामा पर्याप्त ध्यान दिन विमान सेवा प्रदायक कम्पनी, नियामक निकाय र सरकारसमक्ष आग्रह गर्दछौँ”, कार्यवाहक प्रवक्ता मनिष झाले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “यस दुःखद घडीमा हामी शोकाकुल परिवारजन र सरकारका साथमा छौँ ।” यस्तै, उपचाररत विमानका क्याप्टेन मनिष शाक्यको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ । 

पार्टी सभापति रवि लामिछानेले पनि आफ्नो सामाजिक सञ्जालमार्फत उक्त दुर्घटनाले मर्माहत भएको उल्लेख गर्नुहुँदै शोकाकुल परिवारप्रति समवेदना अर्पण गर्नुभएको छ । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा आज सौर्य एयरको ९ एनएएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो । जहाजमा चालक दलका सदस्यसहित १९ जना यात्रु रहेका थिए । दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । रासस