• ९ साउन २०८१, बुधबार

उद्योगमन्त्री भण्डारी र खेलकुदमन्त्री चौधरीको विदेश भ्रमण स्वीकृत

blog

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ । तस्बिर : केशब गुरुङ

काठमाडौँ, साउन ९ गते। सरकारले भारतको नयाँ दिल्लीमा आयोजना हुने बिमस्टेक व्यापार सम्मेलनमा सहभागी हुन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी स्वीकृति दिएको छ।

साउन ७ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णय बुधवार सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोबारे जानकारी गराउनु भएको हो। उहाँले समृद्धिका लागि वन आयोजनाका लागि विश्व बैङ्कबाट थप १३ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको पनि बताउनुभयो। 

उहाँकाअनुसार सरकारले फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने ३३ औँ गृष्मकालीन ओलम्पिक खेल समारोहमा २०८१ साउन १० देखि १२ गतेसम्म युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई सहभागी हुन स्वीकृति दिएको छ। 

सरकारले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय लुम्बिनी प्रदेशको प्रमुख सचिव पदमा सहसचिव महादेव पन्थलाई कायममुकायम तोक्ने निर्णय पनि गरेको छ।