• ९ साउन २०८१, बुधबार

नेपाली कथाका प्रवृत्ति र विश्लेषण लोकार्पण

blog

गोरखापत्र समाचारदाता

ललितपुर, साउन ९ गते । डा. शोभाकुमारी ढुङ्गानाद्वारा लिखित समकालीन नेपाली कथाका प्रवृत्ति र विश्लेषण नामक पुस्तक लोकार्पण गरिएको छ ।

ललितपुरस्थित पाटन संयुक्त क्याम्पसमा बुधबार आयोजित कार्यक्रममा प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा. धर्मराज अधिकारी, प्रा.डा. दयाराम श्रेष्ठ, डा.लक्ष्मणसिंह कुँवर, डा. धनप्रसाद सुवेदीलगायतका व्यक्तिहरूले पुस्तक लोकार्पण गर्नु भएको हो । 

पुस्तक लोकार्पण समारोहका प्रमुख अतिथि प्रा.डा. गोविन्द भट्टराईले डा.ढुंगानको यस पुस्तकमा नारी पक्षीय सिद्धान्तका विविध पक्ष र तत्त्वलाई सम्झेर एउटै कृतिमा धेरै कुरा समेटी तिनीहरूको समुचित व्याख्या गरिएको चर्चा गर्नुभयो । उहाँले डा. ढुङ्गानाको प्रस्तुतिमा समकालीनताको गहिरो प्रभाव आधिकारिक दृष्टिकोण रहेको पनि बताउनुभयो । 

कार्यक्रममा पाटन संयुक्त क्याम्पसका नेपाली विभागका प्रमुख लक्ष्मण सिंह कुँवरले नेपाली भाषाको क्षयीकरण हुँदै गरेको अवस्थामा प्रकाशित पुस्तक राम्रो पाठ्य सामग्री साबित हुने विश्वास व्यक्त गर्नुभयो । 

क्याम्पस प्रमुख प्रा.डा. दयाराम श्रेष्ठले यो पुस्तक स्वतन्त्र लेखनभन्दा पनि शोधमा आधारित भएको बताउनुभयो । यसमा अध्याय योजना व्यवस्थित र वैज्ञानिक भएको, लेखन विश्लेषण प्रामाणिक भएको, समग्र विषय प्रस्तुति सङ्गतिपूर्ण रहेको टिप्पणी गर्नुभयो । 

पुस्तकका रचयिता डा. शोभा ढुङ्गानाले नाट्य विद्यामा विद्यावारिधि गरेको भएपनि समकालीन नेपाली कथाले आफ्नो मन बढी छोएकाले त्यसैमाथि पुस्तक लेख्ने जमर्को गरेको स्पष्ट गर्नुभयो । उहाँले समकालीन नेपाली कथा भनिए पनि त्यसमा २०४६ सालदेखि कै  करिब २२ वटा कथाहरूलाई लिएर अध्ययन र विश्लेषण गरिएको बताउनुभयो । 

उहाँले नेपाली समाजमा देखिएका राजनीति उताव चढाव, विकृति र विसङ्गति, सामाजिक विखण्डन, पर्यावरणमा आएको विन्यास र त्यसले आम मानिसको जीवनमा पारेको प्रभाव, युवाको विदेश पलायन, बृद्धबृद्धाको पीडा, अरूको कोख भाडामा लिएर बच्चा जन्माउने बढ्दो प्रवृत्ति जस्ता कुराहरूले आफूलाई बढी छोएकाले त्यसैमा विश्लेषण गरिएको बताउनुभयो । झापाको दमक १ स्थित सेर्गेम प्रकाशन गृहले प्रकाशन गरेका पुस्तकको मूल्य चार सय रुपियाँ तोकिएको छ ।