• ९ साउन २०८१, बुधबार

अर्थमन्त्री र सिबिफिनबिच दिगो आर्थिक एवम् बैङ्किङ विकासका विषयमा छलफल

blog

तस्बिर : रासस

काठमाडौँ, साउन ९ गते । बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को टोलीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटघाट गरी समसामयिक विषयहरूमा छलफल गरेको छ । 

परिसङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै अर्थमन्त्री पौडेलसँगको भेटका क्रममा दिगो आर्थिक एवम् बैङ्किङ विकासका विषयमा छलफल भएको जनाएको छ । लगानी एवम् व्यवसायमैत्री वातावरण बन्न नसक्दा कर्जा विस्तारमा व्यापक सङ्कुचन आएको, वित्तीय संस्थाको खराब कर्जा एवम् जोखिमपूर्ण सम्पत्तिमा उल्लेखनीयरुपमा वृद्धि भएको, पूँजीकोषमा दबाब परेको, बैङ्क तथा वित्तीय संस्थाका विरुद्ध अफवाह फैलाउने र कर्जा नतिर्न गरिएका दुरुत्साहन निरुत्साहित हुन नसकेकोलगायतका विषय सिबिफिनले उठाएको थियो । 

प्रस्तावित बैङ्क तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया) का केही नीतिगत प्रावधानहरूले बैङ्किङ लगानीकर्तामा व्यापक नैराश्य पैदा गराएको र क्रमशः यस क्षेत्रबाट लगानीकर्ता र कर्मचारीसमेत पलायन हुने क्रम बढेकोप्रति सिबिफिनले अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराएको छ । समग्र आर्थिक एवम् बैङ्किङ क्षेत्रमा खस्केको मनोबल र गुमेको आत्मविश्वासलाई उच्च बनाउँदै दिगो आर्थिक एवम् बैङ्किङ विकासका पहलकदमीहरू अवलम्बन हुने विश्वास सिबिफिनले व्यक्त गरेको छ । 

पुँजी निर्माण एवम् परिचालन, लगानी विस्तार, रोजगारी सिर्जना, सामाजिक रूपान्तरण र राजस्वमा उल्लेख्य योगदान पुर्‍याउँदै आएको बैङ्किङ क्षेत्रको मुनाफा ऋणात्मक हुँदै जानु गम्भीर समस्या रहेको सिबिफिनको धारणा थियो । बैङ्क तथा वित्तीय संस्थाको नाफा खुम्चिँदा लाखौँ लगानीकर्ताहरूको जीवन गुजारामा मात्र असर नपुगी स्वयम् सरकारको राजस्व लक्ष्यमासमेत गम्भीर असर परेको विषयप्रति संवेदनशील भइदिन अर्थमन्त्री समक्ष सिबिफिनले आग्रह गरेको छ ।

छलफलका क्रममा अर्थमन्त्री पौडेलले सिबिफिन टोलीबाट प्राप्त सुझाव ग्रहण गरी सुदृढ एवम् आत्मनिर्भर अर्थतन्त्र र समृद्ध राष्ट्र निर्माण गर्ने सरकारको अभियानमा सहकार्यका लागि आग्रह गर्नुभयो । साथै, सुषुप्त अवस्थामा रहेका मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन र समग्र बैङ्किङ क्षेत्रका समस्या एवम् चुनौतीको समाधान र अपेक्षाको सम्बोधन गर्न सरकारले आवश्यक पहलकदमी लिने अर्थमन्त्री पौडेलले बताउनुभयो । 

सुशासन, विकास र राजनीतिक स्थायित्व कायम गर्दै अर्थतन्त्र तथा आर्थिक गतिविधिलाई चलायमान बनाउने र आन्तरिक एवम् बाह्य लगानीलाई प्रोत्साहन गर्ने सरकारको प्रमुख प्राथमिकता भएको धारणा राख्दै अर्थमन्त्री पौडेलले बैङ्किङ क्षेत्रको विश्वास एवम् छविमाथि हानी हुने र बैङ्किङ गतिविधि सञ्चालनमा असर पुर्‍याउने कुनै गतिविधि सरकारलाई क्षम्य नहुने बताउनुभयो । अर्थतन्त्रको आधार स्तम्भकारुपमा रहेका बैङ्क तथा वित्तीय संस्थाहरूको संरक्षण, स्थायित्व र दिगो विकासका लागि मौजुदा तथा प्रस्तावित बाफियाका प्रावधान सरोकारवाला सबैलाई मान्य हुने गरी सुधार गरिने प्रतिबद्धता उहाँले जनाउनुभयो । रासस