• ९ साउन २०८१, बुधबार

‘नाक्चे लाग्ना’ नाका दुई साता खुल्ने

blog

फाइल तस्बिर

मुगु, साउन ९ गते । मुगुस्थित नेपाल-चीन सीमामा रहेको नाक्चे लाग्ना नाका दुई साताका लागि खुल्ने भएको छ । कोरोना महामारीका बेला बन्द उक्त नाका यही साउन १७ गते देखि साउन ३१ गतेसम्म खुला रहने छ । 

प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले मुगुको नाक्चे लाग्नासँगै डोल्पाको मायुम्ला नाका दुई साताका लागि खुला गरिने बताउनुभयो । चीनको हाटबजार ह्यजिमार क्षेत्रमा आउजाउ गर्न प्रवेशाज्ञा उपलब्ध गराउने तयारी भइरहेको उहाँले बताउनुभयो । नाका खुला गरिने समयावधिभर नेपालतर्फ सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ केसीको भनाइ थियो । 

नाक्चे लाग्ना नाका भएर स्थानीय बासिन्दा आवश्यक सामग्री खरिद गर्न  हाटबजार जाने गरेका छन् । अस्थायी नाका खोल्न र हाटबजार नियमित रूपमा सञ्चालन गर्न नेपालस्थित चिनियाँ दूतावास र परराष्ट्र मन्त्रालयबिच सहमति भएको हो । मुगम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याफ्ने लामाका अनुसार हाटबजारमा काठका सामग्री, जुत्ता, जडीबुटी, सिमेन्ट, जस्तापाता,  चामल, छुर्पी, चिया, लत्ताकपडालगायत सामग्री किनबेच हुनेगरेको छ । 

नेपालतर्फ सडक सुविधा छैन । स्थानीय र व्यापारीले घोडा, खच्चर र चौरीगाईको सहयोगमा व्यापार गर्ने गर्छन् । मुगुम कार्मारोङ गाउँपालिका-१ का वडाध्यक्ष च्यावा लामा सस्तो दैनिक उपभोग्य वस्तु किनबेच गर्न नाका खुला भएपछि सहज हुने बताउनुहुन्छ । सदरमुकाम गमगढीबाट नाग्चे लाग्ना नाकासम्मको ८७ किमी सडक बनाउने कार्य अघि बढेको छ । हालसम्म १७ किमी सडकको ट्र्याक खोल्ने काम सकिएको छ । नाग्चे लाग्ना नाका मुगु र तिब्बतको झोङ्बा काउन्टीस्थित नाइजु जोड्ने नाका हो । रासस