• ९ साउन २०८१, बुधबार

नवलपुरमा आत्महत्याको स्थिति भयावह

blog

मीना कंडेल

कावासोती, साउन ९ गते । पछिल्लो समय नवलपुरमा आत्महत्याको स्थिति डरलाग्दो देखिएको छ । पछिल्लो तीन वर्षकोमा जिल्लामा तीन सय ७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । 

जिल्लामा साना बालबालिकाहरूले समेत आत्महत्या गर्ने घटना बढ्दो छ । जसमा ११ वर्षदेखि १८ वर्ष सम्मका बालबालिका छन् । शिक्षाको विकास हुँदै गए पनि शैक्षिक तथा मनोवैज्ञानिक चेतनाको कमीले आत्महत्याको दरमा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

केही महिनाअघि जिल्लाको बौदीकाली ६ नगरडाडाका ११ वर्षीय मुना सोती, कावासोती –१५ शेरगंजका १२ वर्षीया श्रृया मुसहर, हुप्सेकोट २ कोलिया बस्ने १६ वर्षीय पूर्णिमा परियारले आत्महत्या गरेका छन् । यसरी साना बालबालिकाले आत्महत्याको बाटो रोज्नु भनेको समाजकै लागि दुखद विषय बनेको सरोकारवाला बताउँछन् । पछिल्लो तीन वर्षमा २३ जना बालक र १९ जना बालिकाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ । यस अवधिमा एक सय ६० जना पुरुषले आत्महत्या गरेका छन् भने महिलाको सङ्ख्या एक सय ५ जना रहेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीले बालबालिका र किशोर किशोरीहरूमा बढ्दो सामाजिक सञ्जालको प्रयोगले आत्महत्या बढ्दो पाइएको बताउनुभयो ।

सामाजिक सञ्जालबाट चिनजान भएकै भरमा प्रेममा फस्ने, तस्बिर सेयर गर्ने र पछि तीनै तस्बिरबाट ब्ल्याकमेल गर्ने जस्ता प्रवृत्ति नवलपुरमा समेत बढ्दै गएको उहाँले बताउनुभयो । यसै गरी आत्म हत्या गर्नुको पछाडि पारिवारिक बेमेल, सम्बन्धको अन्त्य, गरिबी, मानसिक रूपमा निकै कमजोर, मनोरोग, अत्यधिक मादक पदार्थ तथा लागू औषधको सेवन र वैदेशिक रोजगारीले निम्त्याएको अविश्वासका कारण आत्महत्या हुने गरेको अनुसन्धानले देखाएको बताउनुहुन्छ ।

आर्थिक वर्ष २०७८-०७९ मा  महिला ३५, पुरुष ६५, बालक आठ र बालिका आठ गरी १ सय १६ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७९-०८० मा महिला ४१, पुरुष ४८, बालक ६ बालिका सात गरी १ सय २ जना र चालु आर्थिक वर्षको अहिलेसम्म महिला २९, पुरुष ४७, बालक नौ, बालिका चार गरेर ८९ जनाले आत्महत्या गरेको तथ्याङ्क रहेको उहाँले बताउनुभयो ।

जिल्लामा आत्महत्याको स्थिति डरलाग्दो देखिएपछि आत्महत्या बढी देखिएको पालिका गैँडाकोट र देवचुलीबाट यसको रोकथाम र न्यूनीकरण गर्न सचेतनाको कार्यक्रम सञ्चालन गरेको सामाजिक विकास कार्यालय नवलपुरका प्रमुख कृष्ण प्रसाद पौडेलले बताउनुभयो ।

चितवन मेडिकल कलेजका सहप्राध्यापक एवम् मनोपरामर्श डाक्टर समेत रहनुभएका खगेन्द्र काफ्लेले सर्वप्रथम जोखिममा भएका व्यक्तिहरूको पहिचान गर्न सकियो भने आत्महत्या रोकथाम गर्न सकिने बताउनुभयो । मानसिक रूपमा विचलित भएको समयमा वा कुनै पनि समस्यामा परेको बेलामा त्यस्ता व्यक्तिको कुरा सुनिदिनु नै आत्महत्या रोकथामको राम्रो उपाय रहेको डाक्टर काफ्लेले बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय नवलपुरले जिल्लामा विद्यार्थी लगायत विभिन्न क्षेत्रसँग सम्बन्धित व्यक्तिलाई आत्महत्याको वर्तमान अवस्थाको बारेमा जानकारी दिनको लागि र यसको रोकथामको विषयमा परामर्श दिँदै आएको छ ।