• ९ साउन २०८१, बुधबार

बीआरआई परियोजना विस्तृत छलफल गरेर मात्रै अघि बढ्छः परराष्ट्रमन्त्री राणा

blog

बुधबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा धारणा राख्नुहुँदै परराष्ट्रमन्त्री डा. आरजु राणा।

काठमाडौँ, साउन ९ गते । परराष्ट्रमन्त्री डा. आरजु राणाले चीनसँग गरिएको बेल्ट एण्ड रोड परियोजना (बीआरआई) सम्बन्धी सम्झौता विस्तृत छलफल नगरी कार्यान्वयनमा लैजान नसकिने बताउनुभएको छ ।

सो परियोजना कार्यान्वयनसम्बन्धी योजनाबारे विभिन्न अड्कलबाजी भइरहेका बेला मन्त्री राणाले सो अडान राख्नुभएको हो । बुधवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उहाँले सो परियोजना कार्यान्वयन योजनाबारे विस्तृत छलफल हुनै बाँकी रहेको बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सो परियोजना अघि बढाउनका लागि व्यापक छलफलमा ल्याउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास मन्त्री राणाले व्यक्त गर्नुभयो । 

उहाँले सो परियोजना कुन मोडालिटीमा अघि बढाउने भन्ने बारेमा सरकारभित्र छलफल भएपछि संसद्, संसदीय समिति र सम्बन्धित पक्षसँग पनि विस्तृत छलफल गरेर अघि बढाइने बताउनुभयो । एमसीसी संसदमा समेत व्यापक छलफल भएको उल्लेख गर्दै मन्त्री राणाले सरकारले विभिन्न देशसँग गरेको सम्झौता कार्यान्वयन गर्दा सबैसँग छलफल गरेर अघि बढाउन जरुरी रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘बीआरआई सम्बन्धी पनि जति पनि कुरा आइरहेका छन् । त्यसमा पनि एउटा ब्रड फ्रेमवर्क २०१७ मा नै साइन भएको हो । र इम्पिलिमेन्टेशन डकुमेन्टको बारेमा चाहिँ छलफल मात्रै सुरु भएको छ । अहिले यही नै गरिहाल्ने, यो मोडालिटीमा जाने अब यो ऋण लिने हो कि लोन लिने हो कि ? कुन कुन प्रोजेक्टमा जाने भन्ने त्यो कुनै पनि तय भएको छैन । अब यसमा लार्जर छलफलमा जानुपर्छ । कुनै पनि टिटीहरु साइन गर्ने भन्दा अगाडि व्यापक बहस गर्नुपर्छ । अहिलेको मात्रै होइन भविष्यको नेपालको बाटो पनि यसले खिच्छ । यसको लागि छलफल हुनु जरुरी छ । जस्तो एमसीसीमा पनि व्यापक छलफल भयो ।’’

मन्त्री राणाले सो परियोजनाबारे डराउनुपर्ने कुनै विषय नभएको बताउनुभयो । सम्बन्धित सबै पक्षसँग छलफल गरेर अघि बढाउने उहाँको भनाइ थियो ।