• ९ साउन २०८१, बुधबार

रुन्चेत र लुसिकाङ जोड्ने झोलुङ्गे पुल निर्माण

blog

उत्तरी गोरखा धार्चेको २ नम्बर वडा र ३ नम्बर वडा रुन्चेत र लुसिकाङ जोड्ने झोलुङ्गे पुल । तस्बिर : सरोज गुरुङ

गुणबहादुर रोका

सुलीकोट, साउन ९ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिका २ र ३ वडाको रुन्चेत र लुसिकाङ भन्ने ठाउँको बुढी गण्डकी नदी माथिको १२२ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । उक्त पुल निर्माण योजना सम्पन्न गर्नुपर्ने मिति भन्दा तीन महिना अगावै सम्पन्न भएको हो । 

धार्चे गाउँपालिका ३ लुसिकाङ र वडा नम्बर २ को रुन्चेतलाई झोलुङ्गे पुलले जोडेपछि सो क्षेत्रका सयौँ स्थानीय खुसी भएका छन् । पुल निर्माण नहुनन्जेल पाँच घण्टा लाग्ने यो बाटो अहिले छोटिएर जम्मा २ घण्टामा माछीखोला पुग्न सकिन्छ ।

पुल निर्माण हुनु भन्दाअघि स्थानीयहरू केरौजां बेसी, लामाबेशी हुँदै माछा खोला झर्नु पर्दथ्यो । कादुरी एग्रीकल्चरल एण्ड एसाेसियन ब्रिटिस गोर्खाज नेपालको रु १ करोड ३३ लाख ९४ हजार ७ सय ५२ रुपियाँ ३८ पैसा लागतमा पुल निर्माण भएको हो ।

त्यसमध्येमा स्थानीय २ वटा वडाका स्थानीयहरुले एक लाख ७६ हजार जुटाएर पुल निर्माण भएको हो । १२२ मिटर लामो उक्त पुल गत फागुन २ गतेबाट निर्माण सुरु भएर साउन २ गते सम्पन्न भएको थियो । पुल निर्माण भएसँगै करिब तीन हजार स्थानीयहरूलाई माछा खोला आरुघाट र जिल्ला सदरमुकाम आउन सहज हुने भएको छ । 

सहयोगी संस्थाले कादुरीले पुल निर्माणको लागि बजेट मात्र दिएकाले लुसिकाङ तर्फको जग्गा व्यक्तिको भएकाले सबै स्थानीयहरू मिलेर चन्दा उठाएर एक लाखमा जग्गा किनेर पुल निर्माण गरिएको धार्चे गाउँपालिका–२ का वडा अध्यक्ष सरोज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार पुल निर्माण भएसँगै जोखिम युक्त बाटो हिँड्नु पर्ने बाध्यता हटेको छ भने रुन्चेतबाट बेनिघाट आरुघाट लार्के सडक खण्डमा पुग्ने छोटो दुरी भएको उहाँले बताउनुभयो । पुल निर्माण भएसँगै उत्तरी गोरखाका ३ हजार स्थानीय हर्षित भएका छन्।