• ९ साउन २०८१, बुधबार

नकुहिने फोहाेर कार्यालय परिसरमै व्यवस्थापन

blog

डुम्रे (तनहुँ), साउन ९ गते । तनहुँको व्यास नगरपालिकाले जग्गा व्यवस्थापन नहुँदासम्म नकुहिने फोहाेर कार्यालय परिसरमै व्यवस्थापन गर्ने भएको छ । नगरपालिकाले अर्को स्थानको व्यवस्था नभएसम्म कार्यालय परिसरमा फोहाेर व्यवस्थापन गर्न लागेको हो ।  

नकुहिने र पुनः प्रयोगमा ल्याउन सकिने सामग्री व्यवस्थापनका लागि जग्गा खरिद प्रक्रियामा रहेकाले त्यसको टुङ्गो नलागेसम्म वा अर्को व्यवस्था नभएसम्म कार्यालय परिसरमा राखेर व्यवस्थापन गर्न लागिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार फोहाेर व्यवस्थापनका लागि जग्गा व्यवस्थापन नहुँदा दमौली बजार क्षेत्रसँगै विभिन्न स्थानबाट साउन १ गतेदेखि उठाउन नसकिएको फोहाेर सङ्कलन गर्न थालिएको छ । 

उहाँले भन्नुभयो, “नगरपालिकाले फोहर उठाउनुभन्दा यहीँ खाली ठाउँ रहेकाले कार्यालय परिसरबाट व्यवस्थापन गर्ने निर्णय गरेका छौँ ।” नगरपालिकाले फोहाेर उठाउन नसकेपछि अधिकांश चोकमा फोहाेर थुप्रिँदा दुर्गन्धित र कुरुप हुने गरेकाले अहिले उठाएर व्यवस्थापन गरिरहेको नगर प्रमुख न्यौपानेले बताउनुभयो । नगरपालिकाले यसअघि व्यास नगरपालिका-३ मादीनदी किनारस्थित भतेरीमा नकुहिने फोहाेर व्यवस्थापन गर्दै आएकामा सम्झौता अवधि सकिएपछि फोहाेर व्यवस्थापनमा कठिनाइ भएको जनाएको छ । 

नगरपालिकाको भत्काइएको पुरानो सभाहलमा नकुहिने फोहाेर राखेर वर्गीकरण गरी बिक्री वितरण गर्ने योजना बनाएको व्यासका प्रवक्ता एवम् व्यास-६ का वडाध्यक्ष जीवन गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार फोहाेरमैला व्यवस्थापनका लागि व्यास-१३ मा जग्गा खरिद प्रक्रिया अगाडि बढिसकेको छ । उहाँले भन्नुभयो, “जग्गा दिँदा फोहाेरमैलाले दुर्गन्ध हुन्छ भन्ने जनमानसको भ्रम र त्रासलाई चिर्न नगरपालिकाले उदाहरणीय किसिमले काम थालनी गरेको हो ।” व्यास नगरपालिकामा नकुहिने करिब दैनिक पाँच टन र कुहिने तीन टन फोहाेर सङ्कलन हुने गरेको छ । नगरप्रमुख न्यौपानेले भन्नुभयो, “कुहिने फोहाेरलाई व्यास-१० दुम्सीस्थित गौ संरक्षण केन्द्रमा व्यवस्थापन गर्दै आएका छौँ । नकुहिने फोहाेर व्यवस्थापनमा समस्या भएको हो ।” रासस