• ९ साउन २०८१, बुधबार

सौर्य जहाज दुर्घटनाको प्रत्यक्ष दृश्य

blog

काठमाडौँ, साउन ९ गते। काठमाडौँबाट पोखरा उड्ने क्रममा सौर्य एयरको जहाज बुधबार बिहान दुर्घटनामा परेको छ।  सौर्य एयरका कर्मचारी तथा प्राविधिक बोकेको सो दुर्घटनाग्रस्त विमानमा सवार  १८ जनाका निधन भएको छ। पाइलटको उपचार भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। 

दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा यात्रा गर्ने १८ जनाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ। परिवार आएर शवको सनाखत भएपछि मात्रै पोस्टमार्टम गरिने छ। 

त्रिवि अस्पतालमा अहिले दुर्घटनामा परेका परिवारजनको भिड लागेको छ। शव पहिचानको कार्य जारी रहेको अस्पताल स्रोतले जनाएको छ। 

दुई वटा शवको पहिचान गर्न सकिने अवस्थामा छन् बाँकीको शव जलेर चिन्न नसकिने अवस्थामा छन्। यात्रुमध्ये एकजना महिला, एक १० वर्षीय बालक, एक विदेशी र अन्य पुरुष छन्। 

ग्राउण्डेड रहेको जहाजलाई मर्मतका लागि पोखरा लगेर मर्मत गर्ने क्रममा इन्जिनियर यज्ञप्रसाद पौडेल पनि सोही जहाजमा जाँदै हुनुहुन्थ्यो। उहाँकै नेतृत्वमा जहाज मर्मत गर्ने योजना रहेको थियो।

जहाज उड्ने क्रममा रनवे छेउमा रहेको कन्टेनरमा ठोक्किएको र दुई टुक्रा भएको थियो। 

जहाजका क्याप्टेन मनिष शाक्यको भने केएमसी अस्पताल सिनामङ्गलमा उपचार जारी छ। अस्पतालका चिकित्सक डा. विशद दाहालका अनुसार उहाँको शरीरमा विभिन्न भागमा चोटपटक लाग्नुका साथै मुखबाट रगत आएकाले उहाँको आकस्मिक उपचार कक्षमा उपचार भइरहेको छ।

 बुधबार करिब ११ः ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो।  भिडियो स्रोत : न्युज एजेन्सी नेपाल