• ९ साउन २०८१, बुधबार

नेपाली तेक्वान्दो खेलाडीलाई कोरियाली दूतावासमा सम्मान

blog

काठमाडौँ, साउन ९  गते । नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले पारा ओलम्पिक २०२४ मा सहभागी हुन लागेका नेपाली खेलाडीलाई सफलताको कामनासहित बिदाइ गर्नुभएको छ । सो प्रतियोगिता आगामी २८ अगस्टदेखि ८ सेप्टेम्बरसम्म फ्रान्सको पेरिसमा आयोजना हुँदैछ । 

काठमाडौँस्थित दूतावासमा आयोजित कार्यक्रममा राजदूत थेयङले नेपाली तेक्वान्दो महिला खेलाडी पलेसा गोवर्द्धन र पुरुष खेलाडी भरतसिंह महतलाई सम्मानसहित बिदाइ गर्नुभएको हो । खेलको माध्यमबाट नेपालको गरिमा बढाउन सकिने अवसर रहेको बताउँदै उहाँले नेपालका खेलकुद क्षेत्रको सहकार्यलाई थप मजबुत बनाउन कोरिया सरकार निरन्तर लागिपर्ने धारणा राख्नुभयो । कार्यक्रममा नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणा, उपाध्यक्ष बनबहादुर चन्दलगायत दूतावासका कर्मचारीको उपस्थिति रहेको थियो ।

फ्रान्सको पेरिस प्रस्थान गर्ने टोलीमा प्रशिक्षक कविराज नेगी लामा, टिम मेनेजर रामचन्द्र श्रेष्ठसहितको टोलीले सहभागिता जनाउनेछन् । साथै उक्त टोली आजै पेरिसतर्फ प्रस्थान गर्नेछ । कोरिया र नेपालबिच कूटनीतिक सम्बन्ध स्थापना भएको स्वर्णजयन्तीको उपलक्षमा दक्षिण कोरियाली दूतावासले यस वर्ष विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । रासस