• २९ वैशाख २०८१, शनिबार

शिवम् सिमेन्टले प्रदूषण फैलाएको आरोप

blog

शिवम् सिमेन्ट उद्योगबाट उत्पन्न समस्याका बारेमा छलफल गर्न हेटौँडा उपमहानगरपालिकामा बसेको सर्वदलीय बैठक ।

मकवानपुर समाचारदाता

हेटौँडा, वैशाख १६ गते  । हेटौँडा उपमहानगरपालिका–१६ स्थित शिवम् सिमेन्ट उद्योग लिमिटेड जनताको स्वास्थ्यप्रति गैरजिम्मेवार बनेको भन्दै स्थानीय बासिन्दा आन्दोलित भएपछि स्थानीय बासिन्दाको मागको सुनुवाइ र समस्या समाधान गर्न समिति गठन गरिएको छ । उद्योगले सिमेन्ट उत्पादनका क्रममा कोइलाको सट्टा प्लास्टिकजन्य वस्तु प्रयोगमा ल्याएको आरोप लागेको छ । 

हेटौँडा उपमहानगरपालिकामा बिहीबार बसेको सर्वपक्षीय बैठकले आन्दोलनरत स्थानीयको समस्या पहिचान गरी सुझाव दिन हेटौँडा उपमहानगरपालिका–१६ का वडाध्यक्ष रामकृष्ण कोइरालाको संयोजकत्वमा समिति गठन गरेको हो । सिमेन्ट उद्योगले सिमेन्ट उत्पादनका क्रममा प्लास्टिकजन्य पदार्थ जलाएको र लामो समयदेखि धुलोका कारण समस्यामा परेको भन्दै स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका थिए । सर्वपक्षीय बैठकले जनताका गुनासाको समाधान गर्ने गरी काम गर्न उद्योगलाई निर्देशन दिँदै अनुगमनका लागि समिति गठन गरिएको हो । समितिलाई स्थानीयको समस्या पहिचान र समाधानका लागि सुझावसहितको प्रतिवेदन एक साताभित्र तयार गर्ने गरी जिम्मेवारी दिइएको छ । 

उद्योगको नियमित अनुमन गर्ने गरी गठित १८ सदस्यीय समितिको सहसंयोजकमा वडा नं. १७ का वडाध्यक्ष उद्धव सत्याल र सदस्यसचिवमा हेटौँडा उपमहानगरपालिकाका वातावरण इन्जिनियर चन्दा खड्का रहनुभएको छ । उद्योगले सिमेन्ट उत्पादनका क्रममा चुनढुङ्गाबाट निस्कने धुलो र सञ्चालनका क्रममा आउने ध्वनि प्रदूषण नियन्त्रण गर्नुपर्ने र उद्योग परिसरमा विभिन्न स्थानबाट सङ्कलित प्लास्टिक जलाए नलाएको निरीक्षण गर्दै सुधारका लागि उद्योगलाई सुझावसहित निर्देशन दिन नियमित अनुगमनका लागि समिति बनाइएको उपमहानगरपालिकाले जनाएको छ । बैठकमा स्थानीयले विगत १९ वर्षदेखि उद्योगले फैलाएको प्रदूषणका कारण स्थानीयमा श्वासप्रश्वासको समस्या देखिएको बताउँदै पटक पटक उद्योग सञ्चालकसँग बैठक बस्दै सम्झौता गरे पनि उद्योग सञ्चालकले समस्या समाधानका लागि कुनै काम र पहल नगरेको बताएका थिए । बैठकमा हेटौँडा उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाले उद्योग सञ्चालकलाई समस्या समाधानका लागि जिम्मेवार बन्न आग्रह गर्दै उद्योगलाई जिम्मेवार बनाउने काममा स्थानीयको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले स्थानीय बासिन्दा बराबर स्थानीय सरकारका लागि कोही नहुने भन्दै अनुगमन समितिको काममा सहयोगी बन्नसमेत नगर प्रमुख लामाले उद्योगीलाई सुझाउनुभएको छ । बैठकमा नगर उपप्रमुख राजेश बानियाँले स्थानीय बासिन्दालाई दुःख दिँदा उद्योगका समस्या थपिने भएकाले सचेतता अपनाउन आग्रह गर्नुभयो । नगर प्रमुख लामाको अध्यक्षतामा भएको बैठकमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईं, हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरी, मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजाल, स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र शिवम् सिमेन्ट प्रभावित क्षेत्रका टोल विकास संस्थाका प्रतिनिधिलगायतको सहभागिता थियो ।