• ३० वैशाख २०८१, आइतबार

११ हजार रसायनको ‘डाटाबेस’ तयार

blog

ललितपुर, वैशाख १६ गते । बागमती प्रदेशभित्र रहेका विभिन्न औषधीय वनस्पतिमा एघार हजार २४० सक्रिय रसायन पत्ता लागेको छ । एक हजार ७७७ वटा औषधीय वनस्पतिमा गरिएको अनुसन्धानबाट विभिन्न रोगको उपचारमा काम लाग्न सक्ने ती रसायन पत्ता लागेको हो । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गतको युवा वैज्ञानिक प्रोत्साहन कोषको अनुदानमा बागमती प्रदेशभित्र रहेका जडीबुटीमा गरिएको जैविक रसायन डाटाबेस अध्ययनमा ती रसायन पत्ता लागेका हुन् । 

विभिन्न रोगको परम्परागत उपचारमा प्रयोग गरिने विभिन्न जडीबुटी तथा वनस्पतिबारे समेत अध्ययन गरिएको आयोजनाका प्रमुख भुवन गुरुङले बताउनुभयो । विशिष्ट भौगोलिक र सूक्ष्म जलवायु विविधताका कारण नेपालमा पाइने जडीबुटीमा विभिन्न रोगको उपचारमा प्रयोग हुन सक्ने रसायन पाइने अध्ययनले देखाएको छ । नेपालमा ११ हजार ९७१ प्रजातिका वनस्पति पाइएकोमा तीमध्ये करिब सात सयमा औषघीजन्य जडीबुटी रहेको नेपाल वनस्पति विभागले जनाएको छ । 

विषम पारिस्थितिक प्रणाली एवं हावापानीमा बाँच्न गर्नुपर्ने सङ्घर्षका कारण यहाँका वनस्पतिले आफूमा बलियो आनुवंशिक प्रतिरक्षा प्रणाली विकास गर्छन्, जसबाट विशेष औषधीय गुणयुक्त रसायन उत्पादन हुन्छन् । त्यसैलाई सक्रिय जैविक रसायन भन्ने गरिएको अध्ययनको निष्कर्ष छ ।

मन्त्रालयका सचिव डा. भीष्मकुमार भुसालले नेपालमा जडीबुटीको नामकरण र परम्परागत उपयोगिताको अभिलेखीकरण कार्य भए पनि अहिलेसम्म यसको औषधीय गुणको डाटाबेस नभएको सन्दर्भमा नेपाली वनस्पतिमा आधारित आयुर्वेदीय औषधी प्रणालीको नवप्रवर्तन र विकास गर्ने उद्देश्यले यो अध्ययन गरिएको जानकारी दिनुभयो । 

उहाँका अनुसार पत्ता लागेका विशेष सक्रिय जैविक रसायनलाई सम्भाव्य औषधीवाहकका रूपमा अनुसन्धान र परीक्षण गरी मानव उपयोगी औषधीका रूपमा विकास गरिने छ । अध्ययनले औषधी र प्राकृतिक पोषणयुक्त खाद्य पदार्थ विकास गर्न सकिने सुझाव दिएको छ ।

दन्त चिकित्सक डा. पराक्रम पराजुलीले युवा वैज्ञानिक प्रोत्साहन कोषको अनुदानमा सञ्चालन गरिएको दाँत उपचारसम्बन्धमा गरिएको नयाँ खोजबारे जानकारी गराउनुभएको थियो । उहाँले भन्नुभयो, “दाँतको उपचारमा अहिलेसम्म देखिएका कमीकमजोरीलाई ध्यानमा राखी नेपालमै एक नयाँ र भिन्न दन्त उपकरण (डेन्टल डिभाइस) को अविष्कार गरिएको छ । उहाँले यस खोजबारे १५० नमुना (स्याम्पल) मा सफल परीक्षण भइसकेको जानकारीसमेत दिनुभयो ।उहाँले खोज गरिएको यस नयाँ उपचार विधिले नक्कली दाँत राख्ने कार्यमा अहिलेसम्मकै नयाँ विकल्प दिने दाबी गर्दै यो उपचार विधि अहिलेसम्मकै कम खर्चिलो, कम समय, धातुरहित उपचार विधि रहेको बताउनुभयो । 

उहाँका अनुसार यो उपचार विधिमा दाँतमा धातुका सट्टा ‘जिरकोनिया क्राउन’ राखिने छ । दाँतको उपचारमा लाग्ने एक वर्षसम्मको अवधि १५ दिनमा छोटिने छ भने उपचार खर्च ६० प्रतिशत सस्तो हुने दन्त चिकित्सक डा. पराजुलीले दाबी गर्नुभयो ।