• २२ वैशाख २०८१, शनिबार

उद्योग वाणिज्य सङ्घ अध्यक्षमा शाही

blog

अध्यक्षमा निर्वाचित हुनुभएका रतनबहादुर शाही । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा 

कालीकोट, वैशाख १३ गते । कालीकोट उद्योग वाणिज्य सङ्घको अध्यक्षमा रतनबहादुर शाही निर्वाचित हुनुभएको छ । उहाँले तिलबहादुर शाहीलाई ४३ मतले पछि पार्दै दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । 

रतनबहादुर शाही अघिल्लो कार्यकालमा नेपाली काँग्रेसनिकटका व्यापारी डिलबहादुर शाहीलाई ४४ मतले पछि पार्दै निर्वाचित हुनुभएको थियो । 

विजयी शाहीले २७३ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी शाहीले २३० मत प्राप्त गर्नुभयो । दुई प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रेका रतनबहादुर शाही र तिलबहादुर शाही दुवै प्यानलका उम्मेदवार विजयी भएका छन् । 

रतनबहादुर शाही प्यानलबाट नेपाली काँग्रेसनिकट व्यापारी भद्रवहादुर शाही सचिव पदमा र खगेन्द्र पाण्डे कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ । तिलबहादुर शाही प्यानलमा एमालेनिकट उम्मेदवार जनकबहादुर शाही वरिष्ठ उपाध्यक्ष, कमलराज बराल महासचिव र द्वितीय उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) निकट व्यापारी गौरीप्रसाद सञ्जाल विजयी हुनुभएको छ । 

वरिष्ठ उपाध्यक्षमा जनकबहादुर शाहीले २५२ मत प्राप्त गर्दा उहाँको निकटतम प्रतिस्पर्धी भानुभक्त शर्मा आचार्यले २१९ मत प्राप्त गर्नुभयो । द्वितीय उपाध्यक्ष गौरीप्रसाद सञ्ज्यालले २५४ मत प्राप्त गर्दा कृष्णप्रसाद उपाध्यायले २०८ मत प्राप्त गर्नुभयो । 

महासचिवमा कमलराज बरालले १७८ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टी निकट व्यापारी धनञ्जय अधिकारीले १५४ मत प्राप्त गर्नुभयो । दुई सदस्य पदका लागि भएको मतदातनमा दुवै प्यानलका एक–एक जना विजयी भएका छन् ।