मुसीकोट समाचारदाता
रुकुमपश्चिम, वैशाख १२ गते । जङ्गलमा लागेको डढेलो गाउँसम्म सल्किँदा रुकुमपश्चिममा एक जनाको मृत्यु भएको छ । डढेलोले गर्दा १८ वटा घर जलेर नष्ट भएका छन् । अनियन्त्रित आगलागीका कारण पशुचौपायासमेत मरेका छन् भने दुई बस्तीका ९० घर जोखिममा छन् ।
आगलागीमा परेर बाँफीकोट गाउँपालिका–३ की ७० वर्षीय बुदी कामीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय ढारपाखा सामुदायिक वनबाट फैलिएको आगो बाँफीकोट गाउँपालिका–३ को नेपाने हुँदै दारकाट्टे गाउँसम्म सल्केको थियो । घरभित्र रहेका गरगहना निकाल्ने व्रmममा कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त आगलागीको कारण बाँफीकोट गाउँपालिकाको वडा नं. २ र ३ मा १८ वटा घर जलेका छन् ।
वन क्षेत्रबाट गाउँतर्फ सल्केको आगलागीका कारण बाँफीकोट गाउँपालिका–२ मा १० र वडा नं. ३ मा आठ वटा घर जलेका हुन् । वडा नं. ३ को दारकाट्टे र चौरपोखरीमा आठ वटा घर जलेको वडाध्यक्ष तिलवीर केसीले जानकारी दिनुभयो । आगलागीबाट स्थानीय धनबहादुर बोहराको घरमा रहेका एक गोरु, एक गाई र तीन वटा बाख्रा मरेका छन् भने अन्य स्थानीयका घर तथा गोठमा रहेका पशुचौपाया घाइते भएका छन् । वडा कार्यालयले आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गर्न थालेको छ ।
वडाध्यक्ष केसीले वडा नं. ३ नजिकको वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आए पनि हाल वडा नं. २ तर्फ आगो फैलिएको बताउनुभयो । वडा नं. २ का वडाध्यक्ष प्रकाश खत्रीका अनुसार वडा नं. ३ को जङ्गलतर्फबाट फैलिएको डढेलोका कारण १० वटा घर र दर्जनौँ गोठ नष्ट भएका छन् । वडाको नेट्टेमा दुई वटा घर, मेगे र कलजुतेमा आठ वटा घरमा आगलागी भएको उहाँले बताउनुभयो । आगलागी लेकतर्फ फैलिएकाले त्यहाँ रहेका दर्जनौँ गोठ जलेको वडाध्यक्ष खत्रीले जानकारी दिनुभयो । विशेष गरी बर्खाका बेला प्रयोग हुने गोठहरू भएका कारण त्यहाँ मानवीय क्षति भने भएको छैन ।
वडाध्यक्ष खत्रीका अनुसार दुई टोलका ९० घर अझै जोखिममा छन् । स्थानीयवासीले आगो निभाउने कोसिस गर्दा पनि नियन्त्रण गर्न सकिएको छैन । डढेलो अनियन्त्रित भएपछि स्थानीयवासीलाई सजग रहन र धनमालको सुरक्षा गर्न प्रहरी प्रशासनले अनुरोध गरेको छ । स्थानीयवासीले आगलागीको डरले रातभर जाग्राम बस्नु परेको जनाएका छन् । जिल्ला प्रहरी कार्यालयले भने जिल्लाबाट सुरक्षाकर्मीको टोली डढेलो लागेको स्थानतर्फ पठाइएको तर आगो अनियन्त्रित भएको जनाएको छ ।