• २४ वैशाख २०८१, सोमबार

सडकमा रहेको विद्युतको पोल हटाइने

blog

सिमकोट बजारको सडकमा रहेको विद्युतका पोल । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, वैशाख १० गते ।
सिमकोट गाउँपालिका– ५ र ६ बजार क्षेत्रको सडकमा रहेको विद्युतको पोल हटाइने भएको छ । हिल्दुम विद्युत वितरण केन्द्रलाई पोल सार्न बजेटको व्यवस्था भएपछि सडकको बिचमा रहेको पोल हटाइने भएको हो ।

सिमकोट बजारको धुपी रुखदेखि विमानस्थल चोकसम्म ढलान गरिएको सडकको बिचमा रहेको विद्युतका पोल हटाउन लागिएको जानकारी हिल्दुम विद्युत वितरण केन्द्रका प्रमुख नारायणप्रसाद कर्णले जानकारी दिनुभयो ।

२०७६ सालपछि सिमकोट गाउँपालिकाले बजार क्षेत्रको सडकलाई सात मिटर चौडा बनाएपछि पोल सडकको बिचमा पर्दै आएका थिए ।

उहाँले यसअघि नै बिच सडकमा रहेका पोल हटाउने प्रयास गरिएको भए पनि बजेटको व्यवस्था नहुँदा हटाउन नसकिएको बताउनुभयो । ८० वटा पोल सार्ने कार्य सुरु हुने बताउनुहुँदै उहाँले यसका लागि आवश्यक बजेट सघन सहरी विकास कार्यालय जुम्लाले १० लाख र बाँकी विद्युत प्राधिकरणले व्यवस्था गर्ने बताउनुभयो ।

प्राधिकरणले व्यवस्था गर्ने बजेटका लागि कार्यकारी निर्देशक कुलमान घिसिङले प्रतिबद्धता जनाउनुभएको छ । सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीले सडकको बिचमा पोल रहेका कारण सवारी साधन दुर्घटना हुने सम्भावना देखिएको र अर्कोतर्फ बजारको सौन्दर्यकरणमा समेत बाधा पुर्‍याएको बताउनुभयो ।

निक्कै लामो प्रयासपछि बिच सडकमा गाडिएका पोल सार्ने कार्यले सफलता पाउन लागेको उहाँको भनाइ छ ।